| सोमवार, कार्तिक २३, २०८३

कृषक प्रोत्साहन कार्यक्रमहरु बढाउ

शहिद लखन गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकहरु छनोट गरेर सम्मान गर्ने कार्यक्रम ल्याएको छ । किसानलाई प्रोत्साहन गर्ने उदेश्यले ल्याइएको उक्त कार्यक्रम स्वागतयोग्य छ । कृषि क्षेत्रमा राज्यको करोडौ लगानी छ । तर त्यसको प्रतिफल खासै देखिएको छैन ।

अनुदान र राहतमा पनि वास्तविक किसानभन्दा बिचौलिया र पहुँचवालाको हावी बढी छ । वास्तविक किसानहरु सधै पीडित छन् । त्यसैले पनि होला कृषि क्षेत्रको बिकास अपेक्षा अनुसार हुन नसकेको । किसान प्रोत्साहन भन्दै जिल्लाका केही स्थानीय तहहरुले बेलाबखत कार्यक्रमहरु पनि ल्याउने गरेका छन् । नविनतम केही कार्यक्रमभन्दा पनि अनुदानमा कृषि औजार उपकरण वितरण कार्यक्रम अत्याधिक देखिन्छ ।

कृषि क्षेत्रमा यो पनि अहिलेको एक अभिन्न आवश्यकता नै हो । यसलाई अन्यथा लिन मिल्दैन । तर समस्या कहाँनेर छ भने आवश्यकताको पहिचान नगरी पहुँचको आधारमा वितरण भएका कतिपय यस्ता कृषि यन्त्र तथा उपकरण प्रयोगविहीन भएर थन्किएका छन् । कृषि क्षेत्रमा राज्यले गरेको लगानी सहि ठाउँमा सदुपयोग हुन सकेको अवस्था छैन ।

कृषि क्षेत्रमा गरिने लगानीको योजना र कार्यक्रममा केही नयाँपन ल्याउनु जरुरी छ । किसानको आवश्यकता पहिचान गरेर सोही अनुसार लगानी गर्न सके लगानीको उपलब्धी देखिने थियो । किसानले उत्पादन गरेको कृषि उपजको बजार व्यवस्थापनमा सबैभन्दा बढी सहजिकरण र सहयोग गर्नुपर्ने देखिन्छ ।

यस्ता खालका कार्यक्रमहरु ल्याउन सके कृषि क्षेत्रप्रतिको आकर्षण बढ्ने मात्र होइन, जमिन बाँझिने क्रम घट्नेमात्र होइन कृषि क्षेत्रबाट आर्थिक समृद्धिको सपना पुरा गर्न पनि सम्भव हुन्छ । किसान प्रोत्साहनका कार्यक्रमहरु सबै पालिकाका प्राथमिकतामा परुन् ।

प्रतिक्रिया दिनुहोस्