
सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरी मनाइयो
तामाङ समुदायको महान पर्व सोनाम ल्होछार गोरखामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ गोरखा नगरपालिकाको आयोजनामा बिहीबार हर्षाेल्लासपूर्वक पर्व मनाइएको हो ।
ल्होछार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ हो । आजदेखि नै ड्रुक अर्थात् ड्रागन वर्गको विदाई र डुल सर्प अर्थात वर्ग/वर्षमा प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गरी पर्व मनाइएको नेपाल तामाङ घेदुङ गोरखा नगरपालिका समितिले जनाएको छ । विविध सांस्कृतिक कार्यक्रम समेत भएको बताइएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य सुकदेब तामाङ, तमु छोज धी गुरुङ राष्ट्रिय परिषद गोरखाका उपध्यक्ष दिलकुमारी तमु, नेपाल मगर संघका उपाध्यक्ष नानूमाया थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष श्याम बहादुर तामाङ, गोरखा नगरपालिका सामाजिक बिकास शाखा अधिकृत बिजयभक्त उपाध्याय लगायतको सहभागीता रहेको थियो ।




