
सहिद दिवस २०८१ विविध कार्यक्रम गरी मनाइयो
सहिद दिवस २०८१ गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको संयोजन तथा गोरखा नगरपालिकाको समन्वयमा सहिद दिवस मनाइएको हो ।
दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणदेखि हरमटारी, बिसौनी मोड, बसपार्कहुँदै रानीपोखरीसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । रानीपोखरी परिसरमा सहिद सम्मान कार्यक्रम आयोजना गरी दिवस मनाएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
‘विभिन्न समयमा देश र जनताको लागि आफ्नो जीवन अर्पण गर्ने शहिदहरुको सम्झनामा सहिद सम्मान कार्यक्रम गरेर दिवस मनायौँ’, उनले भने । कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुको प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकाय, संचारकर्मी लगायतले उपस्थिति जनाएका थिए ।




