
छेङी लामा १६ दिनदेखि बेखबर
गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० बर्षीय छ्याङी लामा अझै फेला परेका छैनन् । अजिरकोट गाउँपालिका २ सिरानडाँडास्थित घरबाट भैँसी खोज्न निस्केका उनी १६ दिन बितिसक्दा पनि नफर्केका वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
जंगलमा चर्न गएको भैँसी खोज्न भनी अपरान्ह चारबजेतिर घरबाट निस्केका लामा रातीसम्म नफर्केपछि भोलिपल्टदेखि स्थानीयबासी, जनप्रतिनिधि, प्रहरीको संयुक्त टोली निरन्तर खोजी गरिरहेको थियो । चार दिन लगातार खोज्दा पनि नभेटिएपछि खोज्न समेत छोडिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए ।
‘भच्चेक चौकीको प्रहरी, जौबारी इलाका प्रहरी कार्यालयको प्रहरी र पोखराबाट कुकुरसहितको प्रहरी टोलीले पनि खोजी गरेको हो’, उनले भने, ‘संयुक्त रुपमा चारदिनसम्म लगातार खोजी गर्दा पनि भेटिएन । आजभोलि त्यसरीचाहिँ खोजेको छैन ।’
तिब्बत केरुङमा जन्मेका छेङी चार बर्षको उमेरमा नेपाल प्रवेश गरेका थिए ।
चुमनुब्री ७ निले र छ्योकङमा १२ बर्षको उमेरसम्म बसेपछि उनी आमासंग सिरानडाँडामा आएर बसोबास गरेका थिए । उनको अझै खोजी गरिदिन परिबारजनले माग गरेको छ ।




