
खानेपानी बोर्ड सक्रिय होओस्
अहिले गोरखा बजारमा खानेपानीको हाहाकार भएको अबस्था त होइन, तर सुख्खा याम आउँदैछ । त्यतिबेला पक्कै पनि समस्या हुनसक्ने सम्भावना छ, किनभने यो बर्ष सबैभन्दा तापक्रम बढ्ने विज्ञ, विशेषज्ञहरुको अनुमान छ । त्यतिबेला खानेपानी वितरणलाई सहज बनाउन नगरपालिकास्तरीय खानेपानी बोर्डले अहिलेदेखि नै रणनीति बनाउनु वाञ्छनीय देखिन्छ ।
भनिन्छ, ‘सप्रिएको घरको रातीको साँगा, बिग्रिएको घरको दिउसोको साँगा’ । अर्थात समस्या परिसकेपछि हल्लाखल्ला गर्नु वुद्धिमानी हुँदैन । बरु समस्या आउनु अगावै सम्भावित समस्याको आँकलन गरी निदानको उपाय अपनाउनु पर्छ ।
गोरखा नगरपालिकाका १४ वटै वडामा खानेपानीको सरोकारवाला विषयमा काम गर्ने उद्देश्यले बोर्ड गठन गरिएको हो । नगरपालिकाका प्रमुखको नेतृत्वमा बोर्ड छ ।
नगरपालिकाभित्र उब्जिने सबैखाले समस्याको गाँठो फुकाउने पहिलो दायित्व नगरपालिकाकै हो । अहिले दरौँदी बृहत लिफ्टिङ खोनपानी आयोजनाको वाग्डोर गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले सम्हालेको छ । संघीय खानेपानी आयोजनाले गत मंगलवार बोर्डलाई आयोजना हस्तान्तरण गरेको हो । अव दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको व्यवस्थापनको सम्पूर्ण पाटो नगरपालिकाको बोर्डले हेर्ने छ ।
तीसौँ, चालिसौँ करोडमा निर्माण सम्पन्न भएको सो आयोजना अहिलेसम्म सक्रिय छैन । नगरपालिकाभित्रका विभिन्न २२ वटा साना आयोजनाहरुलाई पानी आपूर्ति गर्नेगरी वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । तर निर्माण सम्पन्न भइसके पनि विभिन्न बहाना बनाएर सुरुदेखि नै पानी आपूर्ति गर्न सकेको छैन ।
यस आयोजनाको जिम्मेवारी खानेपानी बोर्डले ग्रहण गरेको छ । अब यथासीघ्र बोर्डले यस आयोजनालाई सञ्चालन गर्नतिर ध्यान दियोस् । साथै पर्याप्त पानी वितरण गर्न नसकेका आयोजनाहरुको समस्या तत्काल निदान गरोस् ।




