
पृथ्वीनारायण शाहको काखमा उभिएर ‘एउटा मानिस’ खोज्दै शिशिर योगी
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म यौटा मानिस खोजिरहेछु …
लोकप्रिय गायक शिशिर योगीले बुधबार गोरखा संग्रहालयस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमुनि यसरी गीत गुञ्जाइरहँदा गोरखाबासीले मच्चीमच्ची ताली बर्साइरहे ।
भेटे कहीँ बता हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपुत कोही …
विश्वनाथ ‘प्रेम’को शव्द, संगीतमा सजिएको यो गीत गाउँदै उनले पृथ्वीनारायण शाहको सालिकतर्फ लक्षित गर्दै प्रश्न गरे ।
नेपाल प्राज्ञिक मञ्चका प्रमुख जगमान गुरुङको नेतृत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्राज्ञ गुरुङले पृथ्वीनारायण शाहको योगदानको प्रसंसा गरे ।
पृथ्वीनारायणले आर्जेको मुलुकमा उनका शाखा सन्तान गद्दी अधिकारी हुने तर्क गरे । कार्यक्रममा प्रदेश २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराज, पत्रकार देवप्रकाश त्रिपाठीलगायतले पृथ्वीनारायण शाहको योगदानको स्मरण गरे । ३०३ औं पृथ्वीजयन्तीको अवसर पारेर बुधबार गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिक क्षेत्रमा कार्यक्रम आयोजना गरिएको थियो ।




