| सोमवार, कार्तिक २३, २०८३

भूमि आयोगलाई काम फत्ते गर्ने चुनौति

भूमि समस्या समाधान आयोगको गोरखा जिल्ला समितिले नयाँ नेतृत्व पाएको छ । यसअघि माओवादी केन्द्रको नेतृत्वमा समिति बनेको थियो । अहिले नेतृत्व परिवर्तन भई नेपाली कांग्रेसको भागमा परेको हो । अध्यक्षमा कांग्रेसका राजनराज पन्त(पूर्व मेयर) नियुक्त भएका छन् । महिला सदस्यमा पनि नेपाली कांग्रेसबाट फुलमाया गुरुङको नाम सिफारिस भएको छ । उनी पनि धार्चे गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन् ।

समितिको बाँकी दुई सदस्य (बिज्ञ र खुल्ला) भने नेकपा एमालेको भागमा परेको छ । खुल्ला सदस्यतर्फ एमालेले दुर्गामाया थापा रानाको नाम सिफारिस गरी पठाएको छ । राना गत मंसिरमा भएको उपनिर्वाचनमा गोरखा नगरपालिका वडा नम्वर ५ को अध्यक्ष पदमा चुनाव लडेकी थिइन् ।

बिज्ञ सदस्यको एक पदका लागि एमालेले तीन जनाको नाम सिफारिस गरी पठाएको छ । समिति जुन पार्टीको सिफारिसबाट बनेको भए पनि काम फत्ते गर्ने चुनौति समितिसामु छ । अहिलेसम्म समितिले आंशिक काम मात्र गर्न सफल भएको छ । केन्द्र तहको ढिलासुस्ती हो वा इच्छाशक्तिको अभाव हो, अथवा जिल्ला तहको प्राविधिक समस्या हो काममा खासै देखिने प्रगति भएको छैन ।

भूमिसम्बन्धी समस्या समाधान आयोग बनेपछि भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु धेरै नै उत्साहित भएका थिए । विशेषगरी चुमनुब्रीका अब्यबस्थित बसोबासीले समितिका सदस्यहरुलाई हेलिकोप्टर चार्टर गराएर आफ्नो अब्यबस्थित बसोबासको अबस्था देखाउन लगेका थिए । तर सो समितिले अवलोकन गरेर फर्कने शिवाय नतिजा केही पनि दिन नसकेपछि अब्यबस्थित बसोबासीहरु अहिले निराश छन् ।

अवधि पूरा गरी समितिका पदाधिकारी, सदस्यहरु परिवर्तन हुनुले मात्रै परिवर्तनको महशुस गराउँदैन । कार्य प्रगति गरेर देखाउन सक्न समिति सामु चुनौति छ ।

प्रतिक्रिया दिनुहोस्