
पालिकाको च्याउखेती कार्यक्रम अरुका लागि पनि उदाहरणीय
उमेर पुगेपछि सिकेको ज्ञानभन्दा बालबयमै सिकेको ज्ञान प्रभावकारी हुन्छ भन्ने त सर्वमान्य कथन हो । त्यसैले बुबा, आमा वा अभिभावकले बालबालिकालाई संस्कार सिकाउन उद्धत हुन्छन् ।सीपमुलक काम पनि बालबयमै सिकाइयो भने उनीहरुले आस्थापूर्वक सिक्छन् । आस्थापूर्वक सिकेको सिकाइ नै टिकाउ हुन्छ ।
यही मान्यतालाई आत्मासात गर्दै शहिदलखन गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सिकाउन सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष बजेट बिनियोजन गरेर पालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयहरुमा च्याउ खेती कार्यक्रम सुरु गरेको हो ।
पालिकाले सबै विद्यालयहरुमा कन्या जातको च्याउको बिउ र आवश्यक सामाग्रीहरु पठाइसकेको छ । विद्यार्थी सङख्या र स्रोत साधनका आधारमा प्रतिविद्यालय २० देखि १०० प्याकेट बिउ उपलब्ध गराएको छ । साथै, ४६ वटै सामुदायिक विद्यालयबाट १–१ जना शिक्षकहरुलाई च्याउ खेती सम्बन्धी अभुमुखिकरण समेत गराइसकेको छ ।
पालिकाले अघिल्लो बर्षदेखि नै च्याउखेतीतर्फ विद्यार्थीलाई उन्मुख गराएको थियो । त्यसको परिणाम राम्रो देखेपछि यसबर्ष पनि निरन्तरता दिएको हो । यसले विद्यार्थीहरुलाई आफूलाई स्वस्थवद्र्धक खानेकुरा उत्पादनका साथै बचेको उत्पादन बेचेर धेरथोर आर्थिक लाभ हुन्छ । विद्यार्थीले उत्पादन गरेको च्याउ विद्यालयले दिवा खाजाका रुपमा पनि प्रयोग गर्ने गरेको छ ।
यसो गर्दा उत्पादनलाई बजार ब्यबस्था पनि सजिलो, विद्यालयलाई पोसिलो खानेकुरा प्राप्तगर्न पनि सजिलो भइरहेको छ । च्याउमा पौष्टिक तत्व पनि हुने भएकाले विद्यालयको दिवा खाजा कार्यक्रममा समेत उत्तम हुने गरेको हो । अन्य खेती भन्दा सजिलो र स्थानीय स्रोत साधानको प्रयोगमा खेती गर्न सकिने भएकाले च्याउ खेतीको योजना बनाइएको हो ।
‘विद्यालयहरुमा च्याउ खेती कार्यक्रम’ का लागि पालिकाले एक लाख रकम विनियोजन गरेको छ । थोरै बजेटको धेरै राम्रो यो कार्यक्रम अरु पालिकाका लागि पनि अनुकरणीय छ ।




