
होमस्टेलाई प्रवद्र्धन गरौं
पर्यटन प्रवद्र्धनका आधारहरुमध्ये होमस्टे पनि एक हो । संस्कृतिको जर्गेनामात्रै होइन स्थानीयको आयआर्जनमा समेत सहयोग पु¥याउन यसको भूमिका अहम हुन्छ । त्यसैले त पछिल्लो समय गाउँगाउँमा होमस्टे खोल्ने क्रम बढ्दो छ । यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकै छ । होमस्टे प्रवद्र्धनका लागि सरकारको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहन्छ ।
स्थानीय समुदाय मिलेर स्थानीय उत्पादन, खानपान, रहनसहन र संस्कृतिको पहिचान दिने स्थानको रुपमा होमस्टे चिनिन्छ । सुनसान बन्दै गएका कतिपय गाउँ होमस्टे संचालनपछि चलायमान बनेका उदाहरण पनि छन् । होमस्टे प्रति पर्यटकको आकर्षण पनि बढ्दो नै छ । सँगै होमस्टे खुल्ने क्रम पनि रोकिएको छैन ।
तर बिडम्वना जिल्लाका अधिकांश होमस्टे व्यवस्थित रुपमा संचालन हुन सकेका छ्रैनन् । कतिपय होमस्टे बाह्रै महिना सुनसान रहन्छन् । कारण पर्यटक लोभ्याउन र आकर्षण गर्न नसक्नु हो । होमस्टेलाई आर्थिक उपार्जनसँग जोड्नु ठिकै हो तर होमस्टेको नाममा पर्यटकसँग अनावश्यक शुल्क असुल गर्ने प्रवृति बढ्दो देखिन्छ । यसले होमस्टे प्रति सकारात्मक दृष्टिकोण पक्कै पैदा गर्दैन । यसप्रति होमस्टे संचालकहरु सजग हुनु जरुरी छ ।
सबै होमस्टेलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । जिल्लामा प्रशंसायोग्य केही होमस्टेहरु पनि छन् । नयाँ होमस्टे खुल्ने क्रम पनि जारी छ । उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । मनकामनाको ढाँडबारीमा पनि केही समय अघि मनकामना मगर सामुदायिक होमस्टे संचालनमा आएको छ ।
संस्कृतिको जर्गेना र पर्यटन प्रवद्र्धनको उदेश्य राखेर संचालनमा आएका यस्ता होमस्टेलाई प्रवद्र्धन गर्नुपर्छ । गोरखा नगरपालिकाले भ्रमण बर्षका कार्यतालिकामा यस्ता होमस्टे प्रवद्र्धनका कार्यक्रमहरु पनि समेटिनुपर्छ । स्थानीय सरकारको साथ, सहयोग र समन्वय भए होमस्टे पर्यटन प्रवद्र्धनका लागि एक आयाम सावित हुने थियो की !




