
स्थानीय तहले रक्सी प्रवद्र्धन गर्नु विचारणीय
सोमरस एक पौराणिक पेय पदार्थ हो, जसको उल्लेख प्राचीन वेदहरूमा गरिएको छ । सोमरसलाई विशेष गरी ऋग्वेदमा प्रसंशा गरिएको छ, जहाँ यसको ठूलो महत्व छ ।देवता र ऋषिहरूले उपभोग गरेको भनेर ऋग्वेदमा उल्लेखित सोमरसलाई एक विशेष धार्मिक पेय मानिन्छ । जसलाई प्रायः एक दिव्य पेयको रूपमा वर्णन गरिएको छ ।
केही अनुसन्धानकर्ताहरूले सोमरसलाई प्राचीन यज्ञमा प्रयोग भएको एक प्रकारको पेय पदार्थ मान्छन् । प्राकृतिक वनस्पतिहरूबाट निकालिएको भनेर उल्लेख भएको सोमरसले आनन्द, शान्ति, र धार्मिक उर्जा प्रदान गर्दछ भनेर वर्णित छ ।
बास्तवका सोमरस के थियो भन्नेबारे यथार्थ जानकारीको अभाव भइरहेका बेला अर्धजानकारीका आधारमा अहिले यत्रतत्र पाइने मदिरालाई सोमरसको संज्ञा दिने गर्छन् ।
अनि ‘देवता, ऋषिले त खान्थे’ भन्ने तर्क गरेर मदिरालाई खुल्लमखुल्ला सेवनको दुस्प्रयास गर्ने गरिएको छ ।मदिरामात्र होइन, गाँजा सेवन, गाँजा किनबेच, ओसारपसारलाई वैधता दिनुपर्छ भनेर पनि आवाज उठ्ने गरेको छ । नीति निर्माण गर्ने संसदमासमेत यस्तो आवाज सुन्ने गरिन्छ । यौनधन्धा खुल्ला गर्न रेडलाइट एरिया बनाउनुपर्छ भनेर पनि संसदमै माग नभएका होइनन् ।
कुनै धार्मिक संप्रदायमा मदिरा प्रसादतुल्य नभएको होइन । कुनै धार्मिक संप्रदायमा बच्चा जन्मनेवित्तिकै रक्सी चटाउने पनि प्रचलन छ । रक्सीको पोम लेनदेन गरेर बिहेबारी छिनोफानो हुने संस्कृति पनि छँदैछ । तर यसको प्रवद्र्धन कतिसम्म गर्ने भन्ने विषय मननीय छ ।रीतिथिति, संस्कृति एकातिर छ, विभिन्न धर्मले मदिरा वर्जित पनि गरेको छ ।
अति मदिरा सेवनले पैदा गरेको समस्याबाट पार पाउनकै लागि भनेर कतिपयले फरक धार्मिक मार्ग अपनाइरहेका छन् । त्यसैले मदिरा एक, दृश्य अनेक छ ।मदिरा सेवनलाई नेपालमा पनि विभिन्न सीमा निर्धारण गरिएको छ । गाँजा त पूर्ण निषेधित नै छ ।
जहाँपायो त्यहीँ मदिरा सेवन तथा बेचबिखन पनि निषेधित छ । गरेर सवारी चलाउन निषेध छ ।मदिरा, गाँजाका बारेमा बेलाबेला आवाज उठेपनि सरकार मौन रहनुमा पक्कै कुनै अर्थ छ । यो विवादित अबस्थामा स्थानीय तहलेचाहिँ रक्सी उत्पादनलाई प्रवद्र्धन गर्नु मनासिब हो कि होइन, विचारणीय छ ।




