
कृषिमा लगानी बढाउन बजार व्यवस्थापनको सुनिश्चितता आवश्यक
आर्थिक समृद्धिको सपना साकार गर्न कृषि क्षेत्रको बिकास अपरिहार्य छ । त्यसमाथि कृषि प्रधान भनेर चिनिने हाम्रो देशमा कृषि पेशा अधिकांश नागरिकको जिविकोपार्जनको प्रमुख आयस्रोत पनि बन्दै आएको छ । आर्थिक समृद्धिको एक मेरुदण्ड कृषि क्षेत्र पनि हो भन्ने कुरामा दुइ मत नहोला । कृषि पेशा प्रतिको लगाव पछिल्लो समय बढ्दो पनि देखिन्छ । बैदेशिक रोजगारीमा गएकाहरु पनि फर्केर कृषिमा लगानी बढाइरहेका छन् । तर बजार व्यवस्थापन लगायतका केही समस्याहरु आज पनि उस्तै छन् ।
संघियतापछि गाउँगाउँमा सिंहदरवार भनियो । स्थानीयको समस्या सुल्झाउन जनप्रतिनिधीहरु निर्वाचित भएर आए । तर किसानका समस्याहरु कहिलै सम्बोधन हुन सकेनन् । यसो भन्दै गर्दा स्थानीय सरकारले केही गरेन भनेर बुझ्नु हुदैन । केही पालिकाहरुले नविनतम योजनाहरु पनि ल्याएका छन् । बजार व्यवस्थापनमा सहयोग पु¥याउन केही योजना कार्यान्वयन समेत गरे । तर त्यसको दिगोपना कायम हुन सकेन ।
उदाहरणका लागि केही स्थानीय तहहरुमा पकेट कार्यक्रमहरु लागू गरिएको छ । किसानलाई लक्षित गरी अनुदानका कार्यक्रमहरु पनि ल्याइएको छ । उत्पादित कृषि उपजका लागि हाट बजार संचालन समेत भएका थिए । तर कार्यान्वयनमा आएका ती योजनाहरु लामो समय टिकेनन् । यसका लागि स्थानीय सरकार मात्र होइन कृषकहरु पनि उत्तिकै जिम्मेवार छन् ।
बिशेषत स्थानीय तहहरुमा कृषि क्षेत्र सम्बन्धी ठोस् योजना र रणनीतिको अभाव देखिन्छ ।
भूगोल र क्षेत्रको पहिचान नगरी अरुकै पछि दर्गुर्ने प्रवृति हावि छ । कृषि क्षेत्रको बिकासका लागि हावादारी र पुरानै योजना ल्याएर हुदैन । समय र भूगोल सापेक्षा योजना ल्याएर कृषि क्षेत्रको बिकासमा जुट्न सक्नुपर्छ । बिशेषत कृषकले उत्पादन गरेका उपजहरुको बजार व्यवस्थापनमा ढुक्क बनाउन सक्ने हो भने पनि कृषि पेशााप्रतिको आकर्षण मात्र होइन कृषिमा लगानी पनि बढ्ने छ । युवापुस्ताको आकर्षण पनि कृषि पेशामा पक्कै पर्ने छ ।




