| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारको पर्यटन प्रवर्धनमा रक गार्डेन

देशभरबाट शैक्षिक भ्रमणका लागि छनौट हुने जिल्लामध्य गोरखा एक, दुई नंबरमा पर्छ । त्यसैले शैक्षिक भ्रमणको सिजनमा गोरखा बजारमा विद्यार्थीहरुको लर्को लामै हुनेगर्छ, शैक्षिक भ्रमणका बसहरु खचाखच हुने गर्छन् । सुनसान बन्दै गइरहेको अबस्थामा यो चहलपहलले गोरखाबजारबासीलाई धेरथोर राहत महशुस गराउँछ ।

तर दुखसाथ भन्नुपर्छ कि, आएका मध्य एक प्रतिशत पनि गोरखामा बास बस्दैनन् । खाना वा खाजा खाने ठाउँका रुपमा पनि उनीहरुले गोरखालाई रोज्दैनन् । गोरखा प्रवेश गरेदेखि उनीहरु गोरखाको सीमाक्षेत्रभित्र रहने समय बढिमा दुईघण्टा हो । सरासर गोरखा दरबार अवलोकन गरेर गोरखा संग्रहालय अवलोकन गरेपछि उनीहरु फर्कन्छन् ।

पर्यटन प्रवद्र्धनको सन्दर्भमा यो एक समस्या हो । यो समस्या हो भन्ने बारेमा पर्यटन व्यवसायीहरु जानकार छन् । यो समस्या कसरी समाधान गर्ने भन्ने बारेमा पर्यटन व्यवसायीहरु चिन्तित पनि नभएका होइनन् । विभिन्न बिकल्पहरु प्रस्तुत पनि गर्छन् । तर ती बिकल्पहरु कहिल्यै कार्यान्वयन भएको देखिएको छैन ।

अहिले गोरखा नगरपालिकाले रक गार्डेनलाई ‘भ्यू प्वाइन्ट’का रुपमा विकास गरिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य छ । पिकनिक स्पट, खुल्ला जिम स्थल, योग स्थल, सन राइज र सनसेटको दृश्यावलोकन गर्ने स्थल र रक क्लाइम्बिङ गर्ने स्थल बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । यदि यो लक्ष्य पूरा भयो भने गोरखा बजारको एउटा गतिलो भ्यूप्वाइन्ट बन्नेछ । यसका लागि वडा नं ६ का वडाअध्यक्ष लागिपरेका छन् ।

कुनै पनि लक्ष्य पूरा गर्न दृढ इच्छाशक्ति र निरन्तरताको खाँचो पर्दछ । निर्धारित लक्ष्य पूरा गर्न प्रतिवद्ध भएर लागेमा असम्भव भन्ने केही हुदैन । रकगार्डेनलाई गतिलो पर्यटकीय केन्द्र बनाउने उद्देश्यका साथ अघि बढे नगरपालिका सफल पनि हुनेछ । नगरबासी खुशी पनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्