| मङ्लबार, कार्तिक २४, २०८३

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको व्यवस्थापनमा, रुम टु रिडको आर्थिक एवं प्राविधिक सहयोग र पालिकाहरुको समन्वयमा संचालित ‘साक्षरता तथा बालिका शिक्षा कार्यक्रम’को वार्षिक समीक्षा सम्पन्न भएको हो ।
वार्षिक समिक्षामा कार्यक्रमले सन् २०२४ भित्र संचालन गरेका गतिबिधिबारे छलफल गरिएको एकीकरण नेपालले जनाएको छ ।

‘सन् २०२४ मा बालिका शिक्षा कार्यक्रम र साक्षरता कार्यक्रम अन्तर्गत गरिएका कार्यक्रमहरु, उपलब्धीहरु, असल अभ्यासहरु, सामना गरिएका चुनौतिहरु, समाधानका लागि गरिएका प्रयासहरू र कार्यक्रमको दिगोपनका लागि गरिएका अभ्यासहरुको विषयमा समीक्षा भयो’, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले भने ।

कार्यक्रममा सामाजिक परिचालक तथा साक्षरता सहजकर्ताहरुले गीत तथा कविता प्रोजेक्टरमार्फत प्रस्तुत गरेको उनले जानकारी दिए । बालिका शिक्षा कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र भिमसेनथापा गाउँपालिकाका १९ वटा विद्यालयहरुमा जीवन उपयोगी सीप कक्षा तथा सामूहिक मेन्टोरिङ सेसनहरु निरन्तर चलिरहको र उक्त सेसनहरुवाट एक हजार ४५ जना बालिका लाभान्वित भएको उनको भनाई छ ।

यस्तै, साक्षरता कार्यक्रमअन्तरगत शहिद लखन, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, भिमसेनथापा र गण्डकी गाउँपालिकाको साथै गोरखा र पालुङटार नगरपालिकाहरुमा रहेका १५० विद्यालयमा पुस्तकालय स्थापना गरिएको र उक्त पुस्तकालयबाट एकजना विद्यार्थीले एक बर्षभित्र औसतमा ३३ ओटा पुस्तकहरू अध्ययन गरेको पाइएको संस्थाले जनाएको छ ।

देवकोटाले वर्ष २०२४ मा भएका कार्यले निकै उत्साह थपेको र आगामि वर्ष कार्यक्रमलाई अझ बढि समुदाय केन्द्रित बनाउने र अन्य पालिकामा विस्तार गर्न आवश्यक रणनीति तय गरी अगाडि बढ्ने बताए । कार्यक्रममा रूम टु रिडका बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक सुशील तिम्सिनाले २०२४ मा निकै फलदायी काम भएको र आगामी वर्ष सन २०२५ अझ प्रभावकारी ढंगले काम गर्ने बताएका छन् ।

कार्यक्रममा रूम टु रिडको बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक सुशील तिम्सिना, अन्य कर्मचारीहरु तथा एकिकरण नेपाल गोरखाको परियोजनामा आबद्ध कमचारीहरुको उपस्थिति रहेका थियो । एकिकरण नेपाल गोरखाको अध्यक्ष मिलनसिंह बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्