
आरुघाट गाउँपालिकाका उपभोक्ता समितिलाई अभिमुखिकरण
योजना कार्यान्वयनका लागि आरुघाट गाउँपालिकाले उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गराउन थालेको छ । वडागत रुपमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको पालिकाका सूचना अधिकारी विवेक खनालले बताए । कुल दश वटामध्ये हालसम्म आठ वटा वडाका उपभोक्ता समितिलाई अभिमुखिकरण गराइसकिएको उनले जानकारी दिए ।
‘आज वडा नम्वर ५ र ६ का उपभोक्ता समितिलाई अभिमुखिकरण गरायौँ,’ उनले भने, ‘यसअघि १ र २ बाहेकका अन्य वडाका समितिलाई अभिमुखिकरण गराएका थियौँ ।’ समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई कार्यक्रममा सहभागी गराइएको उनले बताए ।
उनीहरुलाई उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, योजना सम्झौता र भुक्तानी प्रक्रिया, डोर हाजिरी र दररेट लगायतका बारेमा अभिमुखिकरण गराइएको बताइएको छ । अधिकांश उपभोक्ता समिति मार्फत गर्नुपर्ने योजना रहेको बताउँदै खनालले भने, ‘एउटै वडामा उपभोक्ता समितिमार्फत गर्नुपर्ने २० देखि २५ वटासम्म योजना छन् ।’
आउँदो साता अभिमुखिकरण कार्यक्रम सक्ने र योजना कार्यान्वयनलाई अघि बढाउने उनले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेका वडामा भने योजना सम्झौता भएर कार्यान्वयनको चरण अघि बढि सकेको पालिकाले जनाएको छ ।




