
जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाको सपना
जब माओवादी खुल्ला राजनीतिमा आयो, त्यसदेखि आजपर्यन्त गोरखाका सबैभन्दा ठूला नेता पूर्व प्रधानमन्त्रीसमेत भइसकेका डाक्टर बाबुराम भट्टराई गोरखाका विभिन्न ठाउँहरुमा प्रवचन दिँदा गोरखाको विकासका मुख्य आधार प्रस्तुत गर्दै दुईवटा वाक्य कहिल्यै छुटाउँदैनन्, ‘चेपेकरिडोर, दरौँदी करिडोर र बूढीगण्डकी करिडोरका राजमार्गहरु तीब्र गतिमा निर्माण र स्तरोन्नति गर्नुपर्दछ । गोरखाका उत्तरी क्षेत्र अथाह जडिबुटीको भण्डार हो । त्यहाँका जडिबुटीहरु संकलन गरी पालुङटार वा जरेबर क्षेत्रमा प्रशोधकेन्द्र निर्माण गर्नुपर्दछ ।’
नेता भट्टराईका दुई सपनामध्य एउटा साकार हुने अबस्थामा छ । सिरानचोक गाउँपालिका ५ मा जडिबुटी भण्डारण तथा प्रशोधनकेन्द्र स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो । यो गण्डकी प्रदेशकै पहिलो इकाइ हुनेछ ।
गत असार १७ गते बसेको मन्त्रीपरिषदको बैठकले इकाइ स्थापना तथा संचालनका लागि सो क्षेत्रमा रहेको राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको छ । इकाइ स्थापना तथा संचालनका लागि वन तथा भू–संरक्षण बिभाग र कम्पनीबीच मंसिर १३ गते सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि डिपिआर तयार भएर जग्गा भोगाधिकार समेत प्राप्त भइसकेको छ । छाङखोला सामुदायिक वनको ०.८३ हेक्टर क्षेत्रफलमा इकाइ स्थापना हुन लागेको हो ।
डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । सो जग्गामा रहेको बिभिन्न प्रजातिका २०६ वटा रुख÷पोल हटाउन समेत स्वीकृती दिएको छ । इकाइको सम्भाव्यता अध्ययन गरेर ‘बिजनेस प्लान’ तयार भइरहेको छ । केन्द्रका लागि डिपिआर तयार भइसकेको छ । इकाइ स्थापना तथा संचालनका लागि करिव आठ करोड खर्च लाग्ने अनुमान छ ।
यो स्थापना भएपछि गोरखाको बलियो आर्थिकस्रोत बन्ने विश्वास लिन सकिन्छ ।




