
नेत्रहीन संघको सार्वजनिक सुनुवाई सम्पन्न
नेत्रहीन पुनस्थापना कार्यक्रम गोरखाको सार्वजनिक सुनुवाइ तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । गोरखा नेत्रहीन संघको सहकार्यमा आइतवार जिल्ला सदरमुकाममा सार्वजनिक सुनुवाइ तथा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा संघले सन् २०२० देखि जिल्लाका आठ पालिकाहरुमा दृष्टिविहीन व्यक्तिहरुका लागि संचालन गरेको पुनस्थापना कार्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । बैठकले थप तीन पालिकाहरु धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिकामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, गोरखा नेत्रहीन संघकी अध्यक्ष गिता माया श्रेष्ठ, जनप्रतिनिधी लगायतले सहभागिता जनाएका थिए ।




