| सोमवार, कार्तिक २३, २०८३

गोरखाबासीले पानीको अभाव झेल्न नपरोस्

गण्डकी प्रदेशको एक घर एक धारा अभियान अन्तरगत अहिले जिल्लाका अधिकांश ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । केही बर्षदेखि संचालित यो अभियानले एकाध वाहेक जिल्लाका अधिकांश भूभाग र घरधुरी समेटेको हुनुपर्छ । अभियानले समेटेकै जिल्लाका केही स्थानमा भने पानीको समस्या उस्तै छ । ढोकामा पानी आउनुपर्नेमा एक ग्रागी पानीका लागि डोको बोकेर घण्टौ धाउनुपर्ने बाध्यता स्थानीयलाई छ ।

यो समस्या खोज्न अन्त जानु पर्देन, बारपाक सुलिकोट गाउँपालिका आहालडाँडा गए पुग्छ । आयोजना नै नभएको भए फरक कुरा, तर एक घर एक धारा अभियान अन्तरगत खानेपानीको आयोजना निर्माण भएको ठाउँमै पानीको यो समस्या देखिनु पक्कै न्यायोचित होइन । आयोजना अलपत्र पार्ने ठेकेदारलाई मात्र दोष दिएर हुदैन । नियमक कार्यालय पनि यसको भागीदार हो ।
अहिले टोल पिच्छे खानेपानीका आयोजनाहरु निर्माण भएका छन् ।

एउटै घरमा तीन वटा भन्दा बढी धारा जडान भएका पनि देखिएको छ । कतै भने एउटै धारामा गाउँ नै आश्रित हुनुपर्ने बाध्यता छ । तर त्यही धारामा सिमित समयका लागि मात्र पानी आउछ । आवश्यकताको पहिचान गरी योजना छनोट हुन नसक्दा यो अवस्था देखिएको हो । सहज रुपमा पानीको उपभोग नपाउनु र एक ग्रागी पानीका लागी अझै पनि घण्टौ धाउनु पर्ने बाध्यताको पीडा स्थानीय उपभोक्तावाहेक अरुले बुझ्न सक्दैनन् ।

यस्ता समस्या समाधानका लागि एक त आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्छ । अर्काे योजना निर्माण समयमै सम्पन्न गर्न नियमक कार्यालय बढी जिम्मेवार हुनुपर्छ । मर्मत अभावमा अलपत्र परेका योजनाहरुलाई पनि बजेट विनियोजन गरी उपभोक्ताले सहज रुपमा पानी उपभोग गर्न पाउने वातावरण बनाउनुपर्छ । होइन भने गण्डकी प्रदेशको एक घर एक धारा नारामा मात्र सिमित रहने छ ।

प्रतिक्रिया दिनुहोस्