| सोमवार, कार्तिक २३, २०८३

धवादीको पुल चाँडो मर्मत गर

सोमबार एकाएक गण्डकी गाउँपालिका ७ धवादी र बेनिघाट रोराङ ७ चरौँदी जोड्ने त्रिशुलीमाथिको झोलुंगेपुलको फोटो भाइरल बन्यो । पुलमा डबल डेक हुनुपर्छ तर, एकातर्फको डेक राख्ने काम सम्पन्न भएको, अर्कातिरको डेक राख्ने ठाउँ ह्वाङ्गै भएको पुलमा छ, सात बर्षे बालबालिका स्कूल जाँदै गरेको देखिन्थ्यो ।

एकातर्फको डेक राखिसक्दा बजेट सिद्धिएको भन्दै ठेकेदारले काम छाडेपछि बिगत एक महिनादेखि अर्कोतर्फको डेक राख्ने काम अधुरै छ । अधुरो काम छाडेर एक महिनादेखि ठेकेदार गएपछि ह्वाङ्गै पुलमा दैनिक दुईसय भन्दा धेरै स्थानीयबासी वारपार गर्छन् । धवादी, पँदेलटार, बालटार, चुर्लिङ, चैनपुर, छापगाउँ, तेर्से लगायतका गाउँका स्थानीयबासी पृथ्वीराजमार्ग जान ज्यान जोखिममा राखेर सोही पुल तर्ने गर्छन् ।

गत असोज ११ गतेको त्रिशुलीको बाढीले सो पुल क्षतिग्रस्त बनाएको थियो । पुल क्षतिग्रस्त भएपछि गण्डकी र बेनिघाट रोराङ गाउँपालिकाले त्रिशुली वारपार गर्न डुंगाको व्यवस्था गरेको थियो । तर यहाँ एकसरो डेक राखेपछि गाउँलेहरु डुंगा चढ्न छाडेर अधकल्चो पुल तर्न थालेका हुन् ।

एकसरो मात्र डेक राखेको, बाँकी एकसरो डेक राख्ने ठाउँ खालि रहेको पुल तर्नु अत्यन्त जोखिम भएको भन्दै कतिपय स्थानीयले सो पुलमा आवतजावत गर्न बन्द गर्नुपर्ने माग राखेका छन् । यस्तो पुल तर्न दिनु भनेको ‘सिधै मर्न जा’ भनेसरह भएको उनीहरुको तर्क छ । त्यसैले सो पुलमा आवतजावत कार्य बन्द गरी छिटो भन्दा छिटो पुल मर्मत सम्पन्न गर्न उनीहरुको माग छ ।

गाउँपालिकाले माथिबाट प्राप्त बजेट सक्किए पनि पालिकाको तर्फबाट नौ लाख ५० हजार खर्च गरी डेक निर्माण गर्न कोटेशन आव्हान गरिसकेको जनाएको छ । यथासीघ्र बाँकी डेक बन्ने गाउँपालिकाको भनाइ छ । तर पनि जतिञ्जेलसम्म मर्मत कार्य सम्पन्न हुँदैन, त्यतिञ्जेलसम्म सो पुलबाट वारपार गर्न बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्