
सीमा विवादमा दीगो समाधानको खाँचो
गोरखाका विभिन्न गाउँपालिका तथा एउटै पालिकाको पनि विभिन्न गाउँहरु बीच सीमा विवाद विद्यमान छ । विशेषगरी लेक, चरन, खर्कहरुको बारेमा विवादहरु विद्यमान छन् । कुनै गाउँपालिका वा गाउँहरु बीचको विवाद भुसको आगो जस्तो भित्रभित्रै जलेर बसेका छन् । कतिपयको चाहिँ सतहमा देखिएका छन् । कुनैको कुनै बेलामा देखा पर्छ, अरु बेला सुनसान बन्छ, कुनैको कुनै बेला देखा पर्छ ।
अहिले उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ । चुमनुब्री गाउँपालिकाले जगतमा स्वागत द्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि विवाद सतहमा आएको हो । विवाद साम्य पार्न धार्चे ३ र चुमनुब्री ३ का वडाअध्यक्ष सहितको स्थानीयबासीहरुको भेला भएको थियो ।
शनिबार आयोजना गरिएको भेलामा कुनै निश्कर्ष निस्कन नसकेपछि दुवै पालिकाका अध्यक्षसहित उपस्थित भएर अर्को भेला आयोजना गर्ने गरी टुङ्गिएको छ । धार्चेले भालुवन नजिकैको दूधपोखरी खोलासम्म आफ्नो सीमा दाबी गरेको छ भने चुमनुब्रीले नुर्बभ¥याङसम्म । सीमा विवाद नटुङ्गिपछि धार्चे ३ का बासिन्दाले जगत बगरमा बालुवा उत्खनन गर्न रोक लगाएका छन् ।
यो विवाद यसअघि देखिएको थिएन । बरु धार्चेको यार्सा गाउँ र आरुघाट गाउँपालिकाको मान्बु बीच सीमा विवाद लामो समयदेखि विद्यमान छ । धार्चेकै लाप्राक र गुम्दा, लापु बीच पनि विवाद छ । चुमनुब्रीको पनि ल्हो र सामागाउँ बीच पनि विवाद छ । लेक, खर्क, चरन क्षेत्रका विषयमा विवाद भएको हो । यी विवादहरु बेलाबेला तनाबपुर्ण बन्ने गरेको छ ।
यस्ता विवादहरु दीगो रुपमा साम्य पार्न यथार्थ सीमांकन गर्नु जरुरी छ ।




