
बारपाकमा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकामा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न भएको छ । पालिकाको आयोजना तथा ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा मंसिर १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।
तालिममा बारपाक सुलिकोट गाउँपालिकाको १, २, ३ र ४ नं वडाबाट प्रतिवडा ५ जनाका दरले २० जनाले सहभागिता जनाएको पालिकाले जनाएको छ । ठुलो मात्रामा अल्लो उत्पादन हुने यी वडाहरुमा पहिलेदेखि नै ससाना मात्रामा धागो उत्पादन हुने गरेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत शुवास आलेले बताए ।
‘चारै वडामा पहिलेदेखि अल्लोबाट धागो उत्पादन गरिने काम हुनुका साथै स्थानीयहरुले अल्लो नै पनि बाहिर बेच्ने गर्दथे’, उनले भने, ‘यसरी बिना प्रशोधन कच्चापदार्थ बाहिर पठाउनुभन्दा व्यवसायीक रुपमा धागो उत्पादन गरी आम्दानी बढाउने उदेश्य सहित तालिम संचालन गरेका हौँ ।’ पालिकाले यसअघि हाल तालिम लिएको २० जनाको टोलीलाई अल्लो प्रशोधन सम्बन्धि आधारभुत तालिम प्रदान गरिसकेको उनले जानकारी दिए ।
साथै, पालिकाले चारै वडाका प्रशोधन घर निर्माण गरी अल्लोको भुवा निकाल्ने मेसिन, धागो काट्ने मेसिन र इलेक्ट्रोनिक तान समेत खरिद गरी वितरण गरिसकेको उनले बताएका छन् । ‘पालिकाले चारै वडामा आवश्यक मेसिन समेत खरिद गरि प्रशोधन घर समेत निर्माण गरिदिएको छ’, उनले भने, ‘सोही मेसिनहरु चलाउनका लागी नै अहिलेको तालिम दिइएको हो ।’ पालिकाले २० जनाको टोलीलाई यही आर्थिक वर्षभित्र ३ देखि ६ महिनासम्मको ऐडभान्स तालिम समेत दिने उनले बताएका छन् ।




