
क्षेत्रफल वृद्धि हुँदा धान उत्पादन घट्नु दुखद
गोरखामा बिगत बर्षभन्दा यस बर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धि भएको छ । गत वर्ष १० हजार १४० हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकामा यसबर्ष १० हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । धान भने गतबर्ष ४० हजार मेट्रिकटन उत्पादन भएको थियो । यसबर्ष ३० हजार ९०० मेट्रिकटन मात्र उत्पादन भयो ।
तटबन्ध गरेर खेत संरक्षण, सिँचाइकुलो निर्माण, मल, विउ विजन, औषधी, विषादीमा अनुदानमा सरकारी ठूलो लगानी छ, तर किसानको उत्पादन भने घटिरहेको छ । क्षेत्रफल बढ्दा पनि धान उत्पादन घट्नु दुखद छ । यसबर्ष हिउँदे झरीले गर्दा पनि धान उत्पादन घटेको हुनसक्छ । झरीले हुनसक्छ, धानमा रातेरोग (जिङ्क डिफिसियन्सी) र बाला नलाग्ने समस्याका कारण पोहोरको भन्दा झन्डै २ प्रतिशतले उत्पादन घटेको हो ।
गवारो र फड्के किराको समस्याका कारण झन्डै २ प्रतिशतले उत्पादन घटेको विज्ञहरु बताउँछन् । ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७० मा सबैभन्दा धेरै ११ हजार २६६ हेक्टर क्षेत्रफलमा ४३ हजार १७५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस यता धान उत्पादन वर्षेनी घट्दो अवस्थामा रहेको देखिन्छ । विभिन्न रोग किरासँगै उन्नत बिउ र मलखादको कमीका कारण उत्पादन घटेको विज्ञको भनाइ छ ।
धानको २५ प्रतिशत उत्पादन बिउमा निर्भर हुन्छ । जिल्लाको हकमा उन्नत बिउको कमी रहेको देखिन्छ । यस्तै, मलको अभावले पनि उत्पादनलाई असर पु¥याएको छ । केन्द्रले अझै उन्नत बिउँ र मलखादको कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताएका छन् । कृषिमा आधुनिकीकरण, प्रविधियुक्त खेतीप्रणाली गरी धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्ने लक्ष्यका साथ काम गर्नु आवश्यक छ ।




