
लैंगिक हिंसाविरुद्धको अभियानले सार्थकता पाओस्
यस बर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि सकिएको छ । गत मंसीर १० गतेदेखि सुरु भएको सो अन्तर्राष्ट्रियअभियान मंसीर २५ गतेदेखि सम्पन्न भएको हो ।
अभियानका विभिन्न कार्यक्रमहरु विभिन्न देश र नेपालका हरेक पालिका, हरेक वडा र टोलस्तरमा पनि आयोजना गरिएको थियो । सर्सर्ती हेर्दा अभियान केही होइन झैं लाग्छ, तर अभियान भनेको मान्छेको मनोविज्ञानलाई प्रभावित बनाउने सफ्टवेयर हो । ‘एकथुकी सुकी, हजारथुकी नदी’ भन्छन् । शीत उभाएर घैला भर्नु पनि भन्छन् । यी सबैको आशय हो, ‘कण कण मिलेर पहाड बन्छ, साना साना प्रयासले पनि ठूला सफलता हातपर्छ’ इत्यादि ।
अर्थात लैंगिक हिँसाजस्तो समाजमा जकडिएर रहेको विकृति अन्त्यका लागि एकजनाले, एकपटकमा सम्भव हुदैन । धेरै जनाले बारम्बार प्रयास गरेपछि नबुझेकाहरुले पनि बुझ्न पाउँछन् । मनमा विस्तारै प्रभाव पार्दै गएपछि कुनैपनि खालका लैंगिक हिँसाजस्तो विकृतिबाट मुलुकले उन्मुक्ति पाउने आशा गर्न सकिन्छ ।
लैंगिक हिँसाविरुद्धका कार्यक्रमहरुमा अधिकत्तम महिलाहरुको सहभागिता देखियो । महिलाले मात्र लैंगिक हिँसा गर्ने पनि होइन, अन्त्य गर्ने पनि होइन । लैंगिक हिँसा गराउनमा पुरुषको हात उत्तिकै हुन्छ, त्यसैले अन्त्य गराउनमा पनि उनीहरुको भूमिका अहम हुन्छ । त्यसैले यस्ता अभियानमा महिला जत्तिकै सहभागिता पुरुषको पनि हुनुपर्छ ।
अहिले घरघरमा, समाजमा, विद्यालय, कलेजमा जागिर खाएको, श्रम गरेको ठाउँमा जहाँतहीँ लैंगिक हिंसा हुने गरेको छ । कसैले लुकाउँछन्, कसैले देखाउँछन्, हिंसा जहाँतहीँ छ । हिंसा अन्त्यका लागि सबै पालिकाले बजेट विनियोजन गर्ने गर्छन् । कार्यक्रम गर्छन्, बजेट फस्र्यौट हुन्छ तर समाजमा लैंगिक हिंसाको अबस्था ज्यूँकात्यूँ छ । १६ दिने अभियानअन्तर्गत सबै वडा, पालिकाहरुमा, जिल्ला सदरमुकामहरुमा गरिएका कार्यक्रमहरु निर्धारित लक्ष्य पूरा गर्न सहायकसिद्ध बनोस् ।




