
आरोप प्रत्यारोप नगरौं, तनाबग्रस्त नपारौँ
काशिगाउँकी चेली सुचिना घले, जो बिहे गरेर बारपाक गएको नौ महिना नबित्दै बारपाकको जंगलमा मृत भेटिइन् । घटनास्थलको दृश्य र उनको शरीरको अबस्था नाङ्गो आँखाले मात्र हेर्दा पनि हत्या पुष्टि हुन्छ । पोस्टमार्टम रिपोर्टले के के पुष्टि गर्छ भन्ने कुरा सार्वजनिक हुन बाँकी नै छ, तर करणी नभएको पुष्टि भएको छ । अब रहस्य बाँकी रह्यो कसले ग¥यो र किन ग¥यो यत्तिको निर्मम हत्या ?
यो दर्दनाक पिडादायक अबस्थामा घटनाबारे सुन्ने, देख्ने जो कोही स्तब्ध पनि छन्, साथसाथै हत्याराप्रति आक्रोशित पनि छन् । यो अबस्थामा आक्रोशित भएर सामाजिक सञ्जाल तताउनेहरु पनि छन् । मृतकको माइतीगाउँ काशिगाउँका बासिन्दाले पनि अहिलेसम्म संयमता गुमाएका छैनन्, अर्थात अभद्र तरिकाले लिखित, मौखिक अभिव्यक्ति दिएका छैनन् ।
अपराधी पत्ता लगाउन ढिला नगरौँ भन्ने भावना शिष्ट ढंगले भनिरहेका छन् । दबाबका लागि तीन दिनदेखि सदरमुकाम आएर बसेका छन् । जोडदार माग गर्दै उनीहरु प्रहरी कार्यालयको प्रवेशद्वार, प्रशासन कार्यालय परिसरतिर भेला भइरहेका छन् । तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने संयमता गुमाएझैं गरी बन्द कोठाभित्रबाट जथाभावी लेखिरहेका छन् ।
अभद्रता, गैरजिम्मेवार, अशिष्टता प्रदर्शन गर्न सजिलो हुन्छ, तर त्यसको ठिक उल्टो कठिन अबस्थामा पनि संयम रहन कठिन हुन्छ, दुखाइमा पनि हाँस्न कठिन हुन्छ, पीडा, बेदनामा रहेका बेला शिष्ट र सभ्य ढंगले प्रस्तुत हुन पनि मुस्किल हुन्छ ।
तर अहिले कठिन काम नगरी कैयौँले असभ्यता, अमर्यादित, अशिष्टता प्रदर्शन गरिरहेका छन् । कतै यस्ता अभिव्यक्तिले निर्दोषहरु पीडित त बनिरहेका छैनन् ? सयमा १ जनाले गल्ती गरेर बाँकी ९९ जना पीडित त बनिरहेका छैनन् ? कतै यस्ता अभिव्यक्तिले मैत्री वातावरण बिगार्ने त होइन ? सोचौं, बुझौं, मनन गरौँ ।




