| सोमवार, कार्तिक २३, २०८३

लैंगिक हिँसाविरुद्धका अभियान्ताहरु खोई ?

‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ अहिले देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत १० गतेदेखि सुरु भएको यो अभियान आउँदो २५ गतेसम्म चल्नेछ ।

अभियानको मध्यतिर गोरखामा लैंगिक हिंसाविरुद्धको एक निर्मम घटना घट्यो । बारपाककी सुचिना घलेको जंगलमा अत्यन्त दर्दनाक हत्याको घटना भयो । अपराध कर्ममा संलग्न व्यक्तिसंग प्रतिकार गर्दागर्दै धारिलो हतियार प्रहारबाट अन्ततः उनको मृत्यू भएको शव र घटनास्थलको प्रकृतिले बोल्छ । अहिले उनको शव पोस्टमार्टमका लागि काठमाडौँको टिचिङ हस्पिटल लगिएको छ । आफन्तले शव बुझ्न नमान्दा उनको शव सोही अस्पतालमै छ ।

काशिगाउँ माइत भएकी १८ बर्षकी सुचिना गत वैशाखमा मात्र बिहे गरी बारपाक आएकी थिइन् । भर्खर घरगृहस्थीमा आएकी उनको यो निर्मम हत्याको प्रहरी र स्थानीय जनप्रतिनिधि, समाजसेवी, वुद्धिजीविहरुले अनुसन्धान गरिरहेका छन् । तर एकसाता वितिसक्दा पनि अपराधी पत्ता लागेका छैनन् । तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले बारपाकबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । तर दोषी पत्ता अझै लागेको छैन ।

एकातिर लैंगिक हिँसाविरुद्धको अभियान चलिरहेको छ, अर्कातिर लैंगिक हिँसाको चरम रुप एक किशोरीले प्रतिकार गर्दै जीवन समाप्त पार्नुपरेको छ । जिल्लामा यस्तो दर्दनाक घटना हुँदा पनि अभियानकर्ताहरुबाट घटनाको विरोध गरेको कहीँकतै चुँक्कसम्म पनि सुनिएन । रुकुमपश्चिममा भएको घटनाको विरोधमा यहाँ नारा जुलुस हुन्छ ।

कालिकोटको घटनामा यहाँ विरोध प्रदर्शन हुन्छ, तर आफ्नै जिल्लामा लैंगिक हिंसाको चरम नमूना हत्याको घटना हुँदा कहीँकतै विज्ञप्ति निकालिएको, कहीँकतै ज्ञापन पत्र, ध्यानाकर्षण पत्र बुझाएको भन्ने समाचार सुन्न पाइएको छैन । कि हत्याहिंसाविरुद्धको अभियान बजेटरी शीर्षकभन्दा बाहिर गएर गर्न नमिल्ने हो कि, कि माथिको आदेश नआएसम्म हत्या हिंसाको पनि बिरोध गर्नु हुन्न ? कि कुनै एनजिओले आदेश गरेपछि मात्र हुने हो ?

प्रतिक्रिया दिनुहोस्