| सोमवार, कार्तिक २३, २०८३

स्थानीय पाठ्यक्रम र पाठ्पुस्तकको आवश्यकताको औचित्य

रुम टु रिडको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले प्रकाशन गरेको कक्षा ५ को स्थानीय विषयको पाठ्यपुस्तकमा माओवादी जनयुद्धका पोस्टरसहितका विषयबस्तु छापिएपछि विवादित बनेको छ । स्थानीय पाठ्यक्रम प्रारुप २०७१, स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६, स्थानीय पाठ्यक्रम निर्देशिका २०६४, स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि सथानीय तहका सरकारी निकायका लागि अभिमुखीकरण निर्देशिकाको मर्म र भावना विपरीत पाठ्यपुस्तकमा जनयुद्धका पाठ्यबस्तु राखिएको भन्दै जनप्रतिनिधिहरु नै विरोधमा उत्रिएका छन् ।

मुलुकको सङ्घीय संरचनाअनुकूल स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माण कार्यलाई प्राथमिकता दिनुपर्दछ । स्थानीय पाठ्यक्रममा मातृभाषा, स्थानीय ज्ञान, सिप, प्राकृतिक स्रोतसाधन तथा ऐतिहासिक र सांस्कृतिक पक्षका क्षेत्र समेट्नु पर्छ । राष्ट्रिय स्तरको पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयबस्तुका बारेमा पठनपाठन गराउन स्थानीय पाठ्यक्रमको आवश्यकता परेको हो । यसमा राष्ट्रियस्तरको विषयबस्तु राख्नु मनासिब हुदैन ।

यसमा मातृभाषा तथा स्थानीय ज्ञान, सिप र प्रविधिमा आधारित माटोको काम, धातु, काठ, ऊन, राडीपाखी, चोयाको, कागजको, करेसाबारीका स्थानीय पेसा, व्यवसाय, मूल्य, मान्यता, भाषा, कला र संस्कृतिको संरक्षण र संंवर्धनमा सहयोग पुग्ने विषयबस्तु समेटनु पर्दछ । स्थानीय तहमा रहेका पुरातात्विक महत्वका स्थल तथा बस्तुहरू, स्थानीय स्तरका ऐतिहासिक बस्तुहरू, व्यक्तित्वहरू, सांस्कृतिक, धार्मिक स्थल, वस्तु, चाडपर्व र संस्कारहरू, वेशभूषा, रहनसहन, उत्सव, स्थानीय लोकसंस्कृति, संस्कार, कलाकौशल, भौगोलिक, प्राकृतिक, पर्यटन स्थल, वनजङ्गल, नदीनाला, ताल, पशुपछी, जनावर, पहाड, हिमाल, जातजाति र उनीहरूको भाषा, शैक्षिक, साहित्य, हावापानी, सिलाइ, बुनाइ, रङ्गाइ, चित्र बनाउने, रङ्गाउने, छाप्ने आदि सीप, स्थानीय लोकगीत, लोकनाच, नाटक, वादन, गायन आदि समेट्नु पर्ने उल्लेख छ ।

स्थानीय पाठ्यक्रम बनाउँदा स्थानीय विज्ञ, अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सुविधाविहीन जनजाति तथा जातीय समूह तथा स्थानीय भाषिक समुदाय, महिला तथा बालिकाहरू, अपाङ्गता भएका व्यक्तिहरूको संलग्नतालाई अनिवार्य गर्नुपर्छ । तर फरक उद्देश्य राखेर काम गरिरहेको रुम टु रिड पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गर्न सहभागी हुनु पनि उचित हुदैन ।

प्रतिक्रिया दिनुहोस्