| सोमवार, कार्तिक २३, २०८३

बारपाक घटनाका दोषीको खोजीकार्य तीब्र होओस्

गत शनिबारदेखि हराइरहेकी बारपाककी सुचिना घले मंगलबार मृत अबस्थामा जंगलमा भेटिइन् । घरबाट घाँस काट्न भनेर निस्किएकी उनको शव गाउँभन्दा धेरै परको जंगलमा खाल्डोमा गाडिएको अबस्थामा भेटियो । शवको ठाउँठाउँमा काटिएको, कपालहरु भुईमा खसेका र शवलाई डोकोले, स्याउलाले छोपेको अबस्थामा गाडिएको भेटियो ।

यो प्रकृतिले उनको मृत्यू भवितव्य होइन, कर्तव्य हो भन्ने देखाउँछ । उनको माइती काशिगाउँ हो । बिहे भएको गत बैशाखमा मात्र हो । काठमाडौमा पढिरहेकी उनी बारपाक आएको पनि धेरै भएको छैन । तर यो दुखद घटनाको खबर बाहिरिए लगत्तै काशिगाउँबाट उनका आफन्त, छरछिमेकहरु बारपाक पुगेका छन् । घटनाले उनका माइतीगाउँका आफन्तजन, छरछिमेक मात्र होइन, सिंगो बारपाक गाउँ पनि शोकमा र त्रासमा छ ।

गाउँ समाजमा यसरी शान्ति सुरक्षामा खलल पुग्नु, अमनचयन गुम्नु, त्रास फैलनु जिल्लाको सुरक्षार्थ खटिने स्थानीय प्रशासन, सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय हो । त्यसैले प्रहरी प्रशासनले पनि घटनाबारे जानकारी पाउने वित्तिकै पोखराबाट अपराधी पत्ता लगाउने तालिमप्राप्त कुकुर र दक्ष अपराध अनुसन्धान गर्ने टोली बारपाकमा खटाएको छ । अपराध कर्म र अपराधी कसैको पनि आफन्त हुँदैन ।

त्यसैले अपराध गर्नेलाई गाउँमा लुक्न, छिप्न नदिन सबै पक्ष सचेत, सजग हुनुपर्छ । गाउँका भद्र भलादमी, सामाजिक अगुवा, आमा समूह, युवा क्लवले अपराध अनुसन्धानमा सघाउन कुनै कसर बाँकी राख्नु हुन्न । साथै वडा तथा गाउँपालिकाजस्ता स्थानीय सरकारले पनि अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग गर्नुपर्छ । एउटा अपराधको घटनाले अरु अपराध ननिम्त्याओस्, एउटा अपराधका घटनाले सामाजिक विद्वेश नफैल्याओस् । सामाजिक बिग्रह ननिम्त्याओस् भन्नेमा सबै पक्ष मिहिन ढंगले लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्