
निजी वनको उपभोग गर्नबाट बञ्चित नगर
अहिले गाउँका युवा जमात अधिकांश विदेशिए । नेपालमा, गाउँमा, घरमा दुईजना पति, पत्नी मात्र बस्छन् । गरेर खान सक्नेहरुको त जेनतेन निर्वाह चलिरहेको छ । गरेर खान नसक्ने, हातगोडा चलाउन नसक्ने वृद्धवृद्धा मात्र भएको परिबारमा अहिले बिचल्ली छ । यो अबस्था नेपालका अधिकांश गाउँबस्तीको हो ।
पुख्र्यौली जिमिनजेथा व्यवस्थापन गरेर उत्पादन गर्न नसक्नेहरु अहिले गाउँमा बहुसंख्यक छन् । कसैले कसैलाई गरेर खाउ भनेर जिम्मा दिएका छन् । कतिपयले आफै गरेर पनि खाएका छन्, यी दुवै हुन नसकेका खेतबारी बाँझिएका छन् । कसैले बाँझो जमिनमा विभिन्न फलफूल लगाएका छन् भने अधिकांशले बेपर्वाह छाडेका छन् ।
बेपर्वाह छाडिएका जमिनमा साल, चिलाउने, कटुस लगायतका बिरुवा उम्रिएर, हुर्किएर पनि काठ दिने भइसकेका छन् । कतिपयले भने निजी वनका रुपमा व्यवस्थिति गरेका छन् । रुख हुर्काएमा आफूलाई खाँचो परेका बेला काठ बेचेर निर्वाह चलाउँला, वा आफूलाई घर धन्सार बनाउन परेका बेला सोही काठ काटौंला भन्ने इरादाले समय समयमा गोडमेल गरी जतन गरेर हुर्काएका छन् ।
तर वन ऐनले निजी वन उपभोगका लागि पनि विभिन्न मापदण्ड बनाइदिएको छ । यो मापदण्ड यति धेरै झञ्झटिलो छ कि, अहिले केरै निजीवनका धनीहरुलले आफ्नै नंबरी जग्गाको काठपात पनि चलाउन पाएका छैनन् । यो अबस्थालाई मध्यनजर गरी वन ऐनले निजी वनको काठपात उपभोगका लागि सहजीकरण गरिदिएको छ, तर वन डिभिजन कार्यालयसंग प्राविधिक जनशक्ति नहुँदा उपभोक्ताले आफ्नै बारीको काठपात उपभोग गर्नबाट बञ्चित छन् ।
यो अबस्थाको अन्त्य गर्न वन डिभिजन, स्थानीय सरकारहरु मिलेर समस्या हल गर्न प्रयास गर्नुपर्छ । निजी वनका धनीहरुले आफ्नो दर्तावाला वनको काठपात विधि र प्रक्रिया पूरा गर्न प्रयोग गर्न पाउनुपर्छ ।




