| मङ्लबार, कार्तिक २४, २०८३

जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशीलता तालिम

गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशील कार्य सुदृढिकरणको लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार भीमसेन थापा गाँउपालिकाबाट सुरु भएको सो कार्यक्रम बुधबार आरुघाट गाँउपालिकामा, बिहिबार सिरान्चोक हुदै निरन्तर ११ वटै गाउँपालिकामा संचालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्ष सीताराम श्रेष्ठले जानकारी दिए ।
उक्त अभिमुखीकरण कार्यक्रम गैर सरकारी संस्था महासंघले राष्ट्रिय प्रकृति संरक्षण कोषसंगको सहकार्य तथा हरित जलवायू कोषको सहायतामा गण्डकी जलाधार क्षेत्रको संकटासन्न समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायू उत्थानशीलता सुधार गर्ने उद्देश्यले संचालन गरिएको उनले बताए ।

भीमसेनथापा गाउँपालिकाको सभाहलमा गैरसरकारी संस्था महासंघको अध्यक्ष तथा कार्यक्रम संयोजक सीताराम श्रेष्ठको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वन्जराको प्रमुख आतिथ्यतामा संचालित तालिमको सामुदायिक उत्थानशीलता पारिस्थितीकीय प्रणालीका उत्थानशीलता र जलवायू सुशासनको बारेमा स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।

जोखिम न्युनीकरण, विपदप्रति कार्यप्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशीलता, जलवायू कोडिङ, जलवायु अनुकुलनका विधि तथा तौर तरिकाको बारेमा जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधीहरुसंग छलफल गरिएको थियो ।
जलवायू परिवर्तनले मानव जीवनसंग सिङ्गो पारिस्थितिकीय प्रणालीमा गम्भीर प्रभाव पारेर उत्पन्न जटिल परिवेशमा जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन तथा जैविक विविधता संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको के भूमिका हुनसक्छ भन्ने बारेमा अभिमुखीकरणमा जानकारी गराइएको थियो ।

साथै स्थानीय सरकारको योजना तर्जुमा र कार्यान्वयनलाई कसरी जलवायूमैत्री बनाउने भन्ने बिषयमा प्राथमिकताका साथ गम्भीर छलफल भएको थियो । गाउँपालिकाका अध्यक्ष तथा स्थानीय सरकारका प्रतिनिधिहरुले यस बिषयमा विगतमा भए गरेका प्रयासहरु समीक्षा गर्दै ग्रामीण बजेट तथा योजना निर्माण, कार्यान्वयन गर्दा जलवायूमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

परम्परागत शीपको अधिकतम प्रयोग र संरक्षण गर्ने, रैथाने जातको बाली विरुवाहरुको संरक्षण गर्ने, डँढेलो नियन्त्रण गर्ने, वन वातावरण संरक्षण गर्ने, जैविक विविधता संरक्षण गर्ने, पानीको मुहान संरक्षण तथा प्रवर्धन गर्ने नीति योजना निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । गैसस महासंघका अध्यक्ष श्रेष्ठले सहजीकरण गरेको सो कार्यक्रममा कृषिमा जलवायुमैत्री प्रविधिको प्रयोग गरी रासयनिक बिषादीरहित खाद्यान्न उत्पादन गर्नेतर्फ उन्मुख हुनेवारेमा छलफल गरी समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्