
लामो समयदेखि अबरुद्ध राहदानी सेवा सुचारु
कम्प्युटर प्रणालीमा समस्या देखिएर लामो समयदेखि अवरुद्ध भएको राहदानी सेवा अहिले सुचारु भएको छ ।
विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ । विभागले मंगलबार साँझ एक सूचना जारी गर्दै सेवा पूर्ववत सञ्चालन भएको जनाएको हो ।
सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ ।
यसैगरी जिल्ला र इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ ।
‘सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ’, विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




