
उत्तरी गोरखाको पठाओ सेवा आलोचनामुक्त बनोस्
कतैकतै चाउचाउलाई रारा भन्ने गर्छन् । पत्रिका भन्नुप¥यो भने गोरखापत्र भन्ने गर्छन् । यस्तो धेरै उदाहरण छन् । खै कसरी जित्यो मन, अहिले यातायात क्षेत्रमा छिटो, सजिलो बाइक सेवा दिने जुनसुकै सेवालाई पनि पठाओ भन्नेगर्छन् । उत्तरी गोरखाको कच्ची सडकमा युवाहरुले बाइकबाट यातायात सेवा दिने गरेका छन् ।
माछाखोलाबाट माथि जहाँसम्म सडक सञ्जाल पुगेको छ, त्यहाँसम्म मोटरसाइकलले भाडामा यात्रुलाई यातायात सेवा दिन्छ, जसले गर्दा साथमा अलिक पैसा हुने उत्तरी गोरखाका यात्रुले छिटो छरितो यातायात सेवा पाएका छन् । उत्तरी गोरखाको आरुघाट–पाङसिङ सडकखण्डमा आरुघाट, आर्खेत, सोती, लापुवेशी, माछाखोला, खोर्लाबेशी, तातोपानी, दोभान, जगत, पाङसिङ जहाँसुकै भाडाका मोटरसाइकल सेवा तैनाथ छन् । यसलाई उनीहरु पठाओ भन्ने गर्छन्, यद्यपि यो पठाओको परिभाषाभित्र पर्दैन ।
के हिउँद, के बर्खा उनीहरुले जोखिमको पर्वाह नगरी यात्रुहरुलाई यातायात सेवा दिइरहेका छन् । कच्ची सडकमा कुद्नुपर्दा धेरै नै बाइक स्वयं र बाइक चालकलाई धेरै नै कठिनाइ छ, यद्यपि सेवा दिइरहेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिने धेरै आधारहरु छन् । केही नकारात्मक पाटोहरु पनि छन् : पहिलो, यो सेवा कुनै सरकारी निकायमा दर्ता भएको सेवा होइन ।
दोस्रो, शुल्क लिएर सेवा दिएबापत राज्यलाई तिर्नुपर्ने राजस्व पनि तिर्दैनन् । तेस्रो भाडा अत्याधिक महंगो असुल्छन् । करिब ३० किलोमिटर सेवा दिएको पच्चीससयदेखि तीनहजारसम्म भाडा लिन्छन् । बर्खाका बेला यो बढेर पाँच हजारसम्म पुगेको थियो । सेवाका नाममा निमुखा यात्रुहरुको ढाडसेक्नेगरी शुल्क लिँदा यो आलोचित पनि बनेको छ ।
राजधानीमा पनि अफलाइन पठाओहरु चल्छन्, तर ती लुकिछिपि चल्छन् । यहाँ भने खुल्लमखुल्ला चल्छन् । यसलाई कुनै नाममा दर्ता गरेर सहुलियत शुल्क लिएर सेवा दिए आलोचनामुक्त हुनेथियो ।




