
मनकामनामा आएका पर्यटक गोरखा ल्याऔँ
प्रसिद्ध मनकामना मन्दिर नेपालको सबैभन्दा धेरै भक्तजन आउने पशुपति पछिको मन्दिर हो । धेरै पर्यटक त मुक्तिनाथमा पनि अत्याधिक आउँछन्, तर मनकामनामा बाह्रै महिना दैनिक चार, पाँच हजार भक्तजन आउँछन् ।
उनीहरुमध्य सबैभन्दा धेरै भारतीय भक्तजन हुने गर्दछन् । भारत हिन्दू बाहुल्य भएको मुलुक हो । त्यसैले हिन्दू देवदेवीको मन्दिरमा भारतीय भक्तजन(पर्यटक)को भीड लाग्ने गरेको हो ।
धार्मिक पर्यटकमार्फत पनि मुलुकलाई धेरै नै आर्थिक योगदान हुन्छ । त्यसैले मनकामनामा आएका थोरैमात्र पर्यटक गोरखा भित्र्याउन सकियो भने गोरखाको पर्यटन विकासमा ठूलै टेवा पुग्नेछ ।
यस अवधारणा नीति निर्माण गर्नेहरुमा नआएको भने होइन । आएको हो, तर कार्यान्वयन गर्न सक्ने अबस्था छैन । केही महिनाअघि मर्मतका लागि भन्दै करिब डेढ महिना जति केवलकार बन्द गरे । त्यतिबेला आँबुखैरेनीबाट हिँडेर वा मोटरबाटो हुँदै मनकामना जान थालियो । यसरी मनकामना जानेलाई बाटोमै भेटेर ‘गोरखा जाऔँ’ भन्ने अभियान सञ्चालन गर्न थालियो । तर त्यसो गर्दा पनि मनकामनाबाट गोरखा आएको भन्ने पर्यटकहरु भेटिएनन् ।
विभिन्न प्याकेज प्रोग्राम बनाएर भए पनि मनकामना आएका धार्मिक पर्यटकलाई गोरखासंग नातो गाँस्न लगाउनु पर्छ । अथवा यो रुटका बारेमा धेरै भन्दा धेरै प्रचार प्रसार गरी ट्रेकिङ, ट्राभल्सका सञ्चालकहरुसंग भेटघाट गर्नुपर्छ । पर्यटन व्यवसायीहरुको साझा संस्था टान लगायतका संस्थाहरुसम्म पनि पहुँच पु¥याई मनकामना, गोरखा मार्गको प्रचार प्रसार गर्नु आवश्यक छ ।
अहिले होटल व्यवसायी संघले गोरखा नगरपालिकासंग समन्वय गरी मनकामनादेखि गोरखासम्मको पदमार्गमा पर्यटक हिँडाउने पहलका लागि कार्यक्रम गर्दैछ । यसले पनि सो मार्गमा पर्यटक वृद्धि हुनसक्ने आशा गरिन्छ । जसो गरेर भए पनि गोरखामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनु आजको आवश्यकता हो ।




