| सोमवार, कार्तिक २३, २०८३

मौलिकता भेटियोस् देउसी भैलोमा

भर्खरै महानपर्वहरु दशैं र तिहार सम्पन्न भएका छन् । अब अर्को ठूलो पर्व छठ संघारमा छ । तिहारमा बिगतमा जस्तो खुल्लमखुल्ला जुवा(कौडा) तास खेलेको, मादक पदार्थ सेवन गरी खुल्लमखुल्ला झैझगडा गरेका घटनाहरु न्यून नै रहेको पाइयो । अप्रिय घटना पनि भएको पाइएन ।

तिहारको अर्को सौन्दर्य देउसी भैलो हो । देउसी भैलो पनि गाउँघरति उस्तो घन्किएन । गाउँमा युवा जनशक्ति कम भएर पनि हुनसक्छ, अर्थात मान्छेमा मनोरञ्जन लिने माध्यम फरक भएर पनि हुनसक्छ, देउसीभैलोको रौनक उतिसारो देखिएन ।
सहरमा सहरकै युवाहरु पनि छन्, गाउँका युवाहरु सहरबजारमा थुप्रिएका छन् । त्यसैले हुनसक्छ, सहरबजारमा छिटपुट देउसीभैलो चलिरहेको छ । तर सहरबजारमा पनि मौलिक देउसीभैलो छैन । उपकरणको सहायताले, म्युजिक ट्रयाकमा देउसी भैलो गाएको देखिन्छ ।

अनि कतिपय देउसीभैलोमा नाच्ने नाचमा उत्ताउलोपन, उच्छिृङ्लता पनि, अश्लिलता पनि देखिन्छ । यसले नेपालीहरुको गौरवपूर्ण संस्कृतिको रुपमा रहेको देउसीलाई विकृत बनाउने काम गरेको छ । यसलाई केलाएर फ्याँक्ने काम युवाहरुकै हो ।
सबै देशका नागरिकले आफ्नो कला, संस्कार, संस्कृतिलाई गौरवका साथ लिन्छन् । त्यसलाई सिँगारपटार गर्ने काम गर्छन्, तर हाम्रोमा भने विकृत बनाउने गरेको पाइन्छ । यो दुखद पक्ष हो ।

अहिलेका युवाहरु पनि कम्ति सचेत छैनन् । देश विदेशका अभ्यास देखे, बुझेका छन् । अब यस विषयलाई पनि गम्भीरता पूर्वक लिएर हाम्रो कला संस्कार, संस्कृतिलाई सुसंस्कृत बनाउन युवाहरु लाग्नु पर्छ । कसैको संस्कृतिलाई विकृति बनाउन लाग्ने पक्ष पनि हुन्छन् ।त्यस्तो पक्षको गतिविधिबाट बच्न चनाखो हुनुपर्छ । देउसी भैलोलाई सभ्य बनाऔँ, फेरि पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्