| सोमवार, कार्तिक २३, २०८३

प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण सृजना गर

धेरै आशा र अपेक्षा सहित नागरिकले मत दिएर जनप्रतिनिधी चुनेका हुन्छन् । तीनै जनप्रतिनिधी नागरिकको समस्या समाधान भन्दा आ–आफ्नो पार्टीको राजनीतिक स्वार्थमा लिप्त भइदिदाँ समस्या हुन्छ । यसले न त पालिकाको बिकास र समृद्धि सम्भव हुन्छ न पालिकावासीको आशा र अपेक्षा पुरा हुन्छ । पालिकाको व्यवस्था नै भद्रगोल बन्न पुग्छ । यसको ज्वलन्त उदाहरण अहिले गोरखा नगरपालिका बनेको छ ।

बिभिन्न समस्यामा जेलिएको गोरखा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतहरु धेरै समय नटिक्ने समस्याले थप थला पारेको छ । छोटो समयमा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेरले नगरपालिकाको समग्र कार्ययोजना प्रभावित मात्र बनेको छैन, नगरपालिकाको बिकास र समृद्धिको उदेश्य प्राप्तिमा समेत बाधक बनिरहेको छ ।

नगरपालिका बुझ्न नपाउँदै अधिकृतहरु सरुवा लिन मन्त्रालयमा हारगुहार गर्न पुग्छन् । अखिर यो अवस्था सृजना हुनुमा को जिम्मेवार होला ? जनप्रतिनिधी वा कर्मचारीहरु, वा प्रमुख प्रशासकीय अधिकृत आफै ? यो प्रश्नको उत्तर खोज्नु अति आवश्यक छ । हुन त प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा टिक्न नसक्नुको कारणमध्ये मेयर र उपमेयरको आफू अनुकुलको दवाव हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

फरक राजनीतिक धरातल र फरक बिचारका मेयर उपमेयरलाई झेल्न प्रमुख प्रशासकीय अधिकृतलाई त्यति सहज देखिदैन । आफू अनुकुलका स्वार्थहरुमा जनप्रतिनिधीले प्रमुख प्रशासकीय अधिकृतलाई दवाव सिर्जना गर्नु पक्कै राम्रो होइन । यसो भन्दैमा सबै दोष जनप्रतिनिधीलाई मात्रै थुपार्न न्यायोचित हुदैन । कर्मचारीभित्रको गुटवन्धी पनि नगरपालिकाको अर्काे समस्या हो । प्रमुख प्रशासकीय अधिकृतलाई टिकाउने नटिकाउने भन्नेमा पनि कही कतै यसको प्रभाव पर्छ नै । यता केहि कमी कमजोरी प्रशासकीय अधिकृतहरुको पनि हुन्छ ।

जे जति कुरा गरेपनि समग्रमा गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु धेरै नटिक्नुको प्रमुख कारण फरक फरक पार्टीबाट निर्वाचित मेयर उपमेयर र उनीहरुबाट हुने आफू अनुकुलको दवाव नै हो । यसले सहज रुपमा काम गर्ने वातावरण सृजना पक्कै गर्दैन । राजनीतिक धरातल र बिचार नमिलेपनि नगरपालिकाको समृद्धि र बिकासका लागि जनप्रतिनिधीहरु एकजुट हुनुपर्छ । र कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण सृजना गर्न सक्नुपर्छ । अनि बल्ल टिक्छन् कर्मचारी, अनि पुरा हुन्छ समृद्ध नगरको योजना ।

प्रतिक्रिया दिनुहोस्