
ग्रामिण सडक बाह्रै महिना संचालनमा आउने बनाउ
जिल्लाका अधिकांश ग्रामिण सडकको दुर्दशाबारे जानकार नभएका जिल्लावासी सायदै होलान् । लाखौ रकम खर्चेर बनेका ती सडकमा मुश्किलले ६ महिना सवारी साधन गुड्छन् । त्यो पनि जोखिमपूर्ण यात्रासहित । सामान्य बर्षातले समेत ती सडकमा यातायात संचालन अवरुद्ध बनाइदिन्छ । यस्ता सडकहरु बाह्रै महिना सहजै रुपमा संचालन हुने गरी मर्मत र स्तरोन्नती गर्नु अति आवश्यक छ ।
डोजरले भित्ता तासेर बिकासको समृद्धि ठान्ने स्थानीयको सोचाईमा पनि परिवर्तन हुनु जरुरी छ । अहिले सडकको ट्रयाक नपुगेको बिरलै ठाउँ होला । सरकारी ढुकुटी खर्चेर विना प्राविधिक जाँच जथाभावी डोजरले खनेर बनाइएको ती ट्रयाकमा न सहज रुपमा सवारी गुड्छन् न त त्यसले बिकासको समृद्धिमा सहयोग नै पु¥याउछ । उल्टो पहिरो जस्ता विपद निम्त्याउछ ।
अघिल्ला बर्षहरुमा बर्षाले अवरुद्ध ग्रामिण सडक सामान्य सरसफाइ गरेर दसैअघि जेनतेन गाडी पुग्ने बनाउँदै आएपनि यस बर्ष त्यो सम्भव भएन । अत्याधिक बर्षाका कारण बिगारेको सडकको सामान्य सरसफाइले गाडी संचालन हुने अवस्था देखिएन । केही दिनअघि बल्ल माछाखोला, लाप्राक, थुमी लगायतका क्षेत्रमा गाडी पुगेको छ । यो अवस्था बर्षेनी दोहोरिरहेको छ । तर यस समस्याको दिर्घकालिन समाधानमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुन सकेको छैन ।
जथाभावी सडकको ट्रयाक खन्नुको सट्टा भएका सडकलाई स्तरोन्नती गर्नतर्फ अग्रसर हुनुपर्छ । कतिपय ठाउँमा ठेकेदारको लापरवाहीले पनि सर्वसाधारणले दुख पाइरहेका छन् । काममा लापरवाही गर्ने ठेकदारलाई कारवाहीको दायरामा ल्याउनुपर्छ र कामको गुणस्तर कायम गराउन खवरदारी गर्नु पनि आवश्यक छ । सडकको दुर्दशाका कारण ग्रामिण भेगका स्थानीयले बर्षेनी भोग्दै आउनु परेको समस्या समाधानका लागि बेलैमा पहल कदमी चाल्नु जरुरी छ ।




