
ठाँटी गाउँको समस्या नजरअन्दाज नगरौँ
‘जहाँ पातलो उहीँ छेँड’ उखान छ । नेपालको(गोरखाको) विकास निर्माणको अभ्यास हेर्दा पनि यस्तै छ । जहाँ विकास भएको छैन, जहाँका नागरिक सबैभन्दा पिछडिएका छन्, जुन ठाउँ दुर्गम छ, जहाँका नागरिक उत्पीडित छन्, जहाँका नागरिक उत्पीडित छन्, निमुखा छन् त्यहीँचाहिँ विकास बजेट पनि कम, विकासका कार्यक्रमहरु पनि कम हुनेगर्छ ।
जहाँका नागरिक टाठाबाठा छन्, जहाँका नागरिक शिक्षित, सभ्य, जागरुक, सशक्त छन्, त्यहीँ विकास निर्माणका कार्यक्रम धेरै, काम धेरै छन् । यसको ज्वलन्त उदाहरण धार्चे गाउँपालिका ७ को ठाँटी गाउँ हो । साबिक लापु गाविसमा पर्ने यो गाउँ त्यहाँका सबै बस्तीहरुबाट कम्तीमा चारपाँच घण्टाको दुरीमा रहेको छ । जम्मा २१ घरधुरी(त्यसमध्य १९ घरधुरीमा मात्र बसोबास छ) रहेको सो ठाउँमा न सडक सञ्जालले जोडेको छ, न विद्यालय छ, न स्वास्थ्यचौकी छ । विद्युत सेवा रहे पनि मोबाइल सेवा पनि अत्यन्तै दुर्बल छ ।
थोरै घरधुरी र स्वास्थ्यचौकीबाट धेरै टाढा पर्ने हुँदा यहाँ नियमित खोप कार्यक्रम र गर्भवतीको नियमित परीक्षण, बच्चाको खोप र पोषण कार्यक्रम पनि सञ्चालन नहुने स्थानीयबासीको गुनासो छ । यो सुविधा नागरिकको आधारभूत आवश्यकता अन्तर्गत पर्दछ । गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य धेरै संवेदनशील विषय हो । यसलाई नजरअन्दाज गर्नुहुदैन ।
शिक्षा, चेतनाको अभाव र निमुखा भएका कारण यहाँका नागरिक आफ्नो आवाज ज्वलन्त रुपमा राख्न सक्दैनन् । नरोइकन आमाले पनि बच्चालाई दूध पिलाउन्नन् भनेझै यहाँका नागरिकले आवाज बुलन्द बनाउन नसकेकाले विकास निर्माणका योजनाहरु सितिमिति पुग्दैनन् । त्यसैले यो बास्तविकता बुझेर स्थानीय सरकारले यहाँ समानुपातिक विकास निर्माणको काम गर्नु जरुरी छ । विकासका योजनाहरु उपलब्ध गराउन जरुरी छ ।




