| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी गाउँपालिकासंग सिक्ने धेरै कुरा छन्

एउटा प्रसंगमा प्रगतिशील नेता रुपचन्द्र बिष्ट भन्थे, ‘वेश्याले पनि माया गर्छु भन्छे । भन्नेले गर्दै गर्दैन, गर्नेले भन्दै भन्दैन ।’
यो उक्ति आँबुखैरेनी गाउँपालिकामा मिल्न जान्छ । आँबुखैरेनी गाउँपालिकाले धेरै राम्रा कामहरु गर्ने गरेको छ । गत आर्थिकबर्षभित्र सम्पन्न गर्नुपर्ने विकास निर्माणका कार्यक्रमहरु पुसभित्रै करिब करिब सम्पन्न गरिसकेको थियो ।

जब कि गोरखाका पालिकाहरुले आर्थिक बर्ष सकिँदासम्म औसत ७५ प्रतिशत मात्र कार्यक्रम गर्न सफल भए । यो बर्ष पनि त्यही गतिमा काम गरिरहेको छ, तर हल्लाखल्ला गर्दैन । पत्रकारहरुले सोधीखोजी गर्दा पनि गरेका कामहरु त्यत्ति उत्साहपूर्वक सुनाउन रुची राख्दैन । सानो काम गरेर ठूलो हल्ला गर्ने अभ्यास भइरहेको वर्तमानमा गरेको कामको पनि प्रचारप्रसार गर्न नचाहने पालिकाको गज्जबको अभ्यास छ ।

अहिले दशैँ लागिसकेको छ । दशैँका बेला काठमाडौँबाट घर फर्कनेहरुको भीड थेगिनसक्नु छ । यो मौका छोपेर यातायात व्यवसायी(मजदुर)हरुले भाडा बढाएका छन् । बढाएको भाडा तिरेर पनि सहज रुपमा घर फर्कन नसकिरहेको अबस्थामा आँबुखैरेनी गाउँपालिकाले आफ्ना पालिकाबासीलाई घर फर्काउन सहजीकरण गरेको छ ।

पालिकाले निशुल्क रुपमा घर फर्कन गाडीको व्यवस्था गरेको छ । काठमाडौँमा रहेका आँबुखैरेनीबासीलाई समन्वय गरी निशुल्क रुपमा घर फर्कन तीन दिने प्याकेज घोषणा गरेको छ । उसले काठमाडौँको सामाखुशीबाट गाउँपालिकाको भवनसम्म सेवा दिएको छ । गत शनिबारबाट सुरु भएको सो सेवा २३ गतेसम्म तोकेको छ ।

गाउँपालिकाले घर फर्कन चाहने आँबुखैरेनीबासीलाई सम्पर्क सहजताका लागि आफ्नो वेभसाइटमा सूचना जारी गरी सम्पर्क नंबर पनि सार्वजनिक गरेको छ । इच्छुकहरुले सम्पर्क गरी घर फर्कन सक्ने भएका छन् । यो निक्कै नै प्रभावकारी कार्यक्रम हो । यस्ता लोकप्रिय कामहरु अरु पालिकाहरुले पनि आँबुखैरेनीसंग सिक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्