
जनस्वास्थ्यमा हेलचेक्र्याईँ गर्नेलाई नियमन गर
अहिले बजारमा सागभन्दा धेरै मासु बिक्छ । दैनिक मासु पाक्ने भान्साहरु पनि गोरखा बजारमा धेरै छन् । तर दैनिक भान्सामा पाक्ने मासु कत्तिको स्वस्थ छ भनेर जाँच्ने चलन छैन । साकाहारको तुलनामा मांसाहार उत्ति स्वस्थ यसै होइन, झन मासु तयार गर्ने बधशाला, फ्रेसहाउस, मासुको स्रोत पशु वा पंक्षी पालन विधिले पनि मासु अस्वस्थ बनाइरहेको हुन्छ ।
नेपथ्यभित्रको अस्वस्थ्य विधि, प्रविधिलाई छाडेर बधशाला, फ्रेसहाउस, जुन अवलोकन, निरीक्षण, अनुगमन गर्न सकिन्छ, त्यसलाई त नियमन गर्न सकिन्छ, त्यसको पनि निरन्तरता छैन । बिगत केहीबर्ष अघिसम्म गोरखाका मासु पसलहरुको नियमित अनुगमन हुन्थ्यो । स्वस्थ बधशाला निर्माण गर्ने भनेर नगरपालिकाले धेरै यत्न गरेको पनि हो, तर कहाँनेर कुरा मिलेन, स्वस्थ बधशाला बन्न सकेन ।
कुखुरा, खसीको मासुका लागि फ्रेसहाउस पनि स्वस्थ बन्नुपर्छ भनेर स्थानीय सरकारले, प्रदेश सरकारले पनि चासो लिन्थ्यो । स्वस्थ्य फ्रेस हाउस निर्माणका लागि व्यवसायीहरुलाई अनुदानसमेत दिन्थ्यो । अनि सर्तअनुसार बने नबनेको अनुगमन पनि हुन्थ्यो । यसले मासु व्यवसायलाई स्वस्थ, सफा, भरोशालाग्दो बनाउन प्रेरित गथ्र्यो ।
तर अहिले प्रदेश सरकार, स्थानीय सरकारले पनि स्वस्थ्य मासु तयार(फ्रेस हाउस निर्माण)का लागि प्रेरित गर्ने कार्यक्रम बनाउन छाड्यो । व्यवसायीहरुले कत्तिको स्वच्छ, सफा, स्वस्थ फ्रेस हाउसबाट मासुको कारोबार गरिरहेका छन् भनेर निरीक्षण, अनुगमन गर्न पनि छाडेको छ । जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने यस्तो व्यवसायको अनुगमन अति आवश्यक हो, त्यसैले यसलाई निरन्तरता दिनु स्थानीय सरकारको पनि दायित्व हो, स्थानीय प्रशासनको पनि जिम्मेवारी हो ।
बधशाला, फ्रेस हाउस स्वस्थ छैनन्, मापदण्ड अनुसार सञ्चालन भएका छैनन् भन्ने त भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्वीकार गरेको छ । त्यसैले त्यसलाई मापदण्ड अनुसार स्वस्थ, सफा फ्रेस हाउस, वधशाला सञ्चालनका लागि पहल गर्ने निकायले यसमा चासो लिनुपर्छ ।




