
गुणस्तरहीन रक्सी निषेध गर्ने नीति सह्रानीय
गाउँगाउँमा सिँहदरबार पुगेपछि धेरै आलोचना हुने गरेका छन्, केही प्रसंसा पनि हुने गरेका छन् । केही कार्यक्रमहरु यस्ता हुन्छन्, जुन आवश्यकताको पहिचान नगरी तय गरिएका हुन्छन्, ती आलोचनायुक्त हुन्छन् । यस्ता कार्यक्रमहरु हुन्छन्, जुन नीति कार्यक्रम बनाउने पेशेवार परामर्शदाताले बनाएका हुन्छन्, ती पनि असाध्यै बनावटी हुन्छन् । त्यस्ता कार्यक्रम स्थानीय हावापानी, माटोको सुगन्ध बोकेको हुँदैन ।
जुन कार्यक्रम गाउँघर, बस्तीको आवश्यकता पहिचान गरी, यहीँको हावापानी, माटोको सुगन्ध आउने गरी बनाइएको हुन्छ, त्यस्तो कार्यक्रम प्रसंसनीय हुन्छ । कार्यपालिका सदस्यहरुबाट प्रस्तावित कार्यक्रम स्तुत्य हुन्छन् । त्यस्ता मौलिक खालका कार्यक्रमहरु स्थानीयका मन जित्ने खालका हुन्छन् ।
जुन कार्यक्रम वितरणमुखी हुन्छन्, त्यस्ता कार्यक्रम आलोच्य हुन्छन् । उत्पादनमुखी कुनै कार्यक्रम नगर्ने, पपुलिस्ट खालका वा वितरणमुखी कार्यक्रम गर्नेहरु क्षणिक, अबुझहरुका लागि वाहवाही कमाउने खालेका हुन्छन् । तर त्यस्ता कार्यक्रम दीर्घकालीक हुदैनन्, त्यस्ता कार्यक्रम स्थानीय सरकारको हितकारी पनि हुदैनन् । क्षणिक वा भोट प्रभावित बनाउने कुत्सित उद्देश्य राखेर बनाइएका हुन्छन् ।
गाउँमा गुणस्तरहीन रक्सी निषेध गर्ने जस्ता कार्यक्रम अति प्रसंसनीय हुन्छन् । जुन रक्सी सस्ता हुन्छन्, आर्थिक अबस्था अति कमजोर भएकाहरुले रोजीरोजी किन्ने, जहाँ जसरी पनि प्राप्त गर्न र सेवन गर्न सकिने रक्सीले निम्नबर्गका सर्वसाधारणको स्वास्थ्यलाई आघात पु¥याउँछ । उनीहरुको जीवनलाई नोक्सानी पु¥याउँछ । आर्थिक सामाजिक रुपमा पनि पतन गराउँछ । त्यसैले यस्ता कार्यक्रम ज्यादै उपकारी हुन्छन् ।
मदिरा नै सेवनलाई निरुत्साहित गर्नु नै पर्दछ । तैपनि धेरथोर सेवनै गर्नु छ भने गुणस्तरहीन रक्सीले भन्दा कम दुस्प्रभाव पार्ने स्थानीय कोदोबाट निर्मित रक्सीको उपयोग गरे कम हानी हुनेछ । यसले आयात पनि घटाउँदछ । बटारे इत्यादि खरिद गर्दाझैँ आर्थिक, सामाजिक रुपमा पनि त्यति धेरै पतन नगराउला । तसर्थ स्थानीय स्तरमा उत्पादन गर्ने, स्वास्थ्यमा पनि कम क्षति पु¥याउने खालका कार्यक्रम लागु गर्नु उत्तम हुने देखिन्छ ।




