| सोमवार, कार्तिक २३, २०८३

खै बजार अनुगमन

चाडवाड नजिकै आइसक्यो । उसै त बजारमा वेथितीको कमी छैन । चाडवाडको समयमा व्यवासीयले झन् मौका छोप्छन् । तर बजार अनुगमन गर्नुपर्ने निमयक निकाय कानमा तेल हालेर बसेको छ । बजार अनुगमनको कमी जिल्लामा खड्किएको छ ।
चालु आर्थिक बर्ष फाट्टफुट्ट बजार अनुगमन भएको जस्तो देखियो ।

तर कर्मकाण्डी जस्तो मात्रै । केही सिमित पसलहरुमा अनुगमन भए । म्याद नाँघेका केही खाद्यान्नहरु पनि जफत गरियो । तर यति मात्रैले बजारको वेथिती अन्त्य हुनेवाला छैन । म्याद गुज्रेका खाद्यान्नहरु त अनुगमन पिच्छे भेटिन्छन् । यसमा अनुगमन समितिकै कमजोरी छ जो यस्ता सामाग्री वेचविखन गरिरहने व्यापारीलाई कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउँछ ।

विना दर्ता संचालनमा रहेका पसलहरुलाइ न बन्द गराउन सक्छ न नियमानुसार दर्ता गराउन बाध्य बनाउन सक्छ । अनुगमनको नाममा समुह बटुलेर केही पसलहरु डुल्दैमा बजार अनुगमनले सार्थकता पायो भन्नु गलत हो । जिल्लाका केही पसलहरु अझै पनि विना दर्ता संचालनमा छन् । म्याद नाघेका खाद्य सामग्री उस्तै । सरसफाइमा लापरवाही । आवश्यक मापदण्डको कमी । यस्ता वेथिती अन्त्यका लागि बजार अनुगमन समितिको आवश्यकता परेको हो ।

बजार अनुगमनका लागि जिल्लामा स्थानीय तह, प्रशासन कार्यायल, पर्यटन तथा उद्योग कार्यालयको नेतृत्वमा छुट्टाछुट्टै समिति छन् । तर अनुगमनको निरन्तरताको कमी र कर्मकाण्डी रुपमा मात्र भएका अनुगमनले बजारको वेथितीलाई नियन्त्रण गर्न सकेको छैन । समिति थप संक्रिय भएर अनुगमनलाई निरन्तरता दिने र अनुगमनलाई प्रभावकारी बनाउन सके बजारको वेथिती अन्त्य हुने थियो की !

प्रतिक्रिया दिनुहोस्