| सोमवार, कार्तिक २३, २०८३

कुटपिट गर्नु दण्डनीय कार्य हो

विश्वका विभिन्न देशमा मृत्यूदण्डको सजायँ छ । नेपालका छिमेकी मित्रराष्ट्रहरुमा पनि अतिशय कडा कारबाहीको व्यवस्था छ, परन्तु, नेपाल शान्तिप्रेमी राष्ट्र हो । यहाँ जतिबिघ्न अपराध गरेको भए पनि आजीवन काराबास सजायँको व्यवस्था बरु छ, मृत्यूदण्ड वा यस्तै प्रकृतिको जघन्य कारबाहीको व्यवस्था छैन ।

नेपाल प्रजातान्त्रिक मुलुक भएर मात्र मृत्यूदण्ड वा यस्तै कठोर कारबाहीको ब्यबस्था नभएको होइन । कैयौँ प्रजातान्त्रिक मुलुकमा पनि त्यस्ता कठोर कारबाहीको व्यवस्था छ । यसको कारण नेपाल एक शान्तिप्रेम मुलुक हो । शान्ति नेपालको आदर्श हो । यहाँ जुनकुनै प्रकृतिको अभियुक्तलाई पनि शारीरिक, मानसिक यातना नदिई अनुसन्धान गर्ने परम्परा छ ।

अन्य हर समस्या पनि वार्ता र संवादद्वारा समाधानको यत्न गरिन्छ । हातहतियार लिएर हिड्नसमेत मनाही छ, कुटपिट, हातपात जस्ता क्रियाकलाप निषेधित छ । यो शान्तिकामी व्यवस्था नेपालको मोडल हो । गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार सेवाग्राही र डाक्टरका बीच तनाबको स्थिति भयो । दुवै पक्षले आफ्नो पक्षपोषण गरी अर्कोपक्षले आफूमाथि हातपात गरेको दाबी गरेका छन् ।

यस्तो शान्तिप्रिय देशमा सेवाग्राहीले डाक्टरमाथि हातपात गर्नु वा डाक्टरले सेवाग्राहीमाथि हातपात गर्नु दुवै कल्पनाबाहिरका, अनपेक्षित कुरा हुन् । कहीँ कतै यस्ता घटना भएका छन् भने यसले नैतिक, आदर्शवान नेपाली सर्वसाधारणलाई विक्षिप्त बनाउँछन् । यदि यस्तो कहीँ कतै भएका छन् भने दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनु पर्छ, ताकि आगामि दिनमा यस्ता छाडा गतिविधि नहोउन् ।

जसले जसलाई कुटे पनि कुटपिटचाहिँ भयो । तनाब निदान गर्ने शान्तिपूर्ण बाटो छँदाछँदै हातपात, कुटपिट जस्ता अवाञ्छित गतिविधि गर्नु कसैलाई पनि नसुहाउने कुरा हो । तसर्थ न्यायिक समिति वा प्रहरीले यस घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याओस् ।

प्रतिक्रिया दिनुहोस्