| सोमवार, कार्तिक २३, २०८३

देशको विकास र पोषणको सम्बन्ध

गोरखा क्याम्पसका प्राध्यापक, कर्मचारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वौद्धिक स्तर(आईक्यू)मा विश्वको १९९ औं स्थानमा रहेको बताए । इन्टेलिजेन्स कोइट(आईक्यू)मा यति धेरै पछाडि पर्नुको मुख्य कारण पोषणको दरिद्रता रहेको पनि उनले बताएका थिए ।

अहिले देश विकास नहुनुको मूल कारण नेपालका नेताहरुमा वौद्धिक स्तर(आइक्यू)को कमी र आईक्यूको कमी हुनुका विविध कारणमध्य एक कारण पोषणको कमी रहेको उनको भनाइ थियो । आईक्यू भनेको वौद्धिकता हो । वौद्धिकता अर्थात ज्ञान, चेतना, वुद्धिमतता । जहाँ वौद्धिक स्तर उच्च छ, त्यहाँ सबै कुराको विकास पनि उच्च हुन्छ । काम गर्नुभन्दा अघि सोच्नु पर्छ । सोचाइ उच्च भयो भने न निर्णय पनि उच्चस्तरको हुन्छ ।

निर्णय उच्च स्तरको भयो भने न कार्यान्वयन पनि गुणस्तरीय हुन्छ । अहिले विकास भनेको भौतिक पूर्वाधार विकासलाई मात्र भन्ने बुझ्छन् । तर त्यसो होइन, दीगो विकास भनेको त निर्माण भएको भौतिक पूर्वाधार दीगो बनाउने, त्यसमा अपनत्व लिई संरक्षण गर्ने आदि पनि हो । पोषणको सन्तुलन मिलाएका कारण नेपाली जस्तै होचो कदका जापानीहरुको औसत उचाइ दुई इञ्च बढेको पाइएको छ । खानामा सन्तुलित व्यञ्जन ठिकठाक भयो भने पोषणयुक्त हुन्छ ।

आवश्यकभन्दा कम पोषण भयो भने पनि कुपोषण हुन्छ । आवश्यक भन्दा पोषण बढि भयो भने पनि कुपोषण हुन्छ । त्यसैले यो विषय राम्ररी बुझ्न जरुरी छ । पोषण भन्ने वित्तिकै बालबालिकाका लागि मात्र सोच्ने हाम्रो अभ्यास छ । तर त्यसो होइन, पोषण गर्भवती, सुत्केरीलाई त यसै चाहिन्छ । बढ्दो उमेरका किशोर, युवा वृद्धवृद्धालाई झन चाहिन्छ । परिश्रम गरेर बालबालिका र ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने युवा वा प्रौढलाई झन पोषणको खाँचो छ । त्यसैले पोषणका बारेमा सचेत रहौँ, पोषण खाऔँ, खुवाऔँ ।

प्रतिक्रिया दिनुहोस्