| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिको शिक्षा नीति नमूनायोग्य बनोस्

गोरखा नगरपालिकाले चालुबर्षका लागि विभिन्न नयाँ खालका शिक्षा नीति अबलम्बन गर्दैछ । नगरभित्रको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि यो नगरपालिकाले विभिन्न नीति तथा कार्यक्रम लागु गरिरहेको छ । राज्यको स्रोत साधनको खर्च गरिरहे पनि विद्यार्थी संख्या कम भएका कारण प्रभावकारी शिक्षण सिकाइ हुन नसकेका विद्यालयहरुलाई नजिकको अर्कोमा मर्जर गर्ने नीति नगरपालिकाको छ ।

चालु बर्ष १४ वटा विद्यालयहरु मर्जर गरिसकेको गोरखा नगरपालिकाले आगामि दिनमा अझै धेरै विद्यालय मर्जर गर्दै जाने नीति लिएको छ । मर्जर गरेर बनेको ठूलो इकाइको विद्यालयलाई मेगा विद्यालयको रुपमा विकास गर्ने नीति पालिकाको छ । धेरै विद्यालयमा खुद्रा खर्च नगर्ने बरु एकै ठाउँमा धेरै ठूलो लगानी गर्ने, तर प्रभावकारी शिक्षण सिकाइ गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।

त्यस्तै हरेक शुक्रबार उत्पादनमुलक शिक्षण सिकाइ गर्ने र उत्पादनमुलक गुड फ्राइडे मनाउने कार्यक्रम नगरपालिकाले अघि सारेको छ । उत्पादन गरेकोमध्य ८० प्रतिशत आम्दानी विद्यार्थी स्वयंले उपभोग गर्ने र बाँकी २० प्रतिशत उत्पादन विद्यालयलाई योगदान गर्ने कार्यक्रम नगरपालिकाको छ । यसो गर्दा विद्यार्थी बेरोजगार बन्नु नपर्ने अपेक्षा नगरपालिकाको छ ।

शिक्षाको उद्देश्य सैद्धान्तिक ज्ञान लिनु मात्र होइन, व्यवहारिक ज्ञान हाँसिल गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु पनि हो । त्यसैले गोरखा नगरपालिकाका विद्यालयहरुमा हरेक शुक्रबार उत्पादनमुलक कार्यक्रम गर्ने योजना बनाएको छ । विद्यालयबाट पास आउट भइसकेपछि विद्यार्थीले कुनै न कुनै सीप प्रयोग गरी जीविका चलाउन सकुन् भन्ने नगरपालिकाको लक्ष्य हो ।

साथै नगरपालिकाले अंग्रेजी माध्यमको लोभले बालबालिका बोर्डिङतिर आकर्षित भएको भन्दै आउँदो शैक्षिक सत्रदेखि गोरखा नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ गर्न नगरपालिकाले प्रेरित गर्ने भएको छ । गोरखा नगरपालिकाको यस्ता कार्यक्रम अरुका लागि प्रेरणादायी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्