| सोमवार, कार्तिक २३, २०८३

दुबै छिमेकी देशको दोहोरो चेपुवामा नेपाली

गरिबीको दलदलमा डुबुल्की मारेका आफ्ना गाउँका निरिह युवाहरुमाथि चिनियाँ सुरक्षाकर्मीको हातपात लगायतको दुव्र्यबहार देखेर खपिनसक्नु भएपछि एक चुम्बा अगुवा चिनियाँ सुरक्षाकर्मीसित जंगिए, ‘सानै भए पनि, गरिब भए पनि हामी पनि एउटा देशका जनता हौँ । तिम्रोजस्तै हाम्रो पनि सेना छ, प्रहरी छ । तिम्रो जस्तै हाम्रो पनि प्रधानमन्त्री छ, मन्त्रीहरु छन् । हामीलाई किन हेप्छौ ? यसपाल त आइहालियो । अबदेखि तिम्रो देशमा किनमेल गर्न आउँदैनौँ । यही लास्ट हो’ इत्यादि ।

पाँचबर्षपछि बल्लतल्ल नाका खुलेको थियो । नाका खुल्यो, चिनियाँ बजारमा सामान किन्न जान पाइने भयो भनेर छेकम्पार र चुम्चेतबाट तिब्बती बजारतर्फ सौदा गर्न गएकाहरुलाई त्यहाँको सुरक्षाकर्मीले कुटपिट, गाली बेइज्जती गर्ने काम गरेको थियो । मोबाइलमा दलाइ लामाको फोटो भिडियो देखे पनि हातपात गर्ने, हिड्ने मुलबाटोबाट अलिकति यताउता लाग्यो भने पनि कुट्ने, अपमानजनक व्यबहार गर्ने जस्ता असह्य व्यवहार गरेको देखेपछि उनीजस्तै अरु स्थानीय अगुवाहरु जंगिएका थिए ।

सामानको मूल्य आकासियो, त्यसमाथि पनि दिनदिनै दरभाउ अदलबदल । तल्लो क्षेत्रको बजारबाट किनेसरह भाउ पर्न गएको अबस्था रह्यो । आफ्नै याकचौँरीले बोकेर ल्याउन पाएको भए पनि ढुवानी भाडा तिर्नुपर्दैनथ्यो भन्ने एउटा आशाको त्यान्द्रो थियो, त्यही पनि यताबाट याकचौँरी लैजान नपाएपछि त्यो पनि चुँडियो ।

पहिले सामान किन्न पाइने जोङ्गा बजारसम्म पुग्न पाइएन । वडा कार्यालयले निर्माण गरेको सपिङ मलभित्र पुगेपछि बाहिरबाट चापी लगाइदिने, त्यहीँ सामान किन्नु पर्ने, त्यहीँ बास बस्नु पर्ने, त्यहाँबाट बाहिर निस्कन खोज्यो भने फेरि सिपाहीको भाटा भेट्ने । यस्तो दबाबमा रहेर सामान किनेर फर्कँदा चुमबासीले धेरै नै अपमान बोध गरे । भारतीय सीमानामा पनि नेपाली यसरी नै हेपिने, चिनियाँ सीमानामा पनि नेपाली यसरी नै हेपिने । दोहोरो चपेटामा पिल्सिएर रहनु परेको अबस्था नेपालीलाई छ ।

प्रतिक्रिया दिनुहोस्