
कुखुराको मासुको दरभाउ समयसापेक्ष बनाऊ
गोरखा कुखुराको मासुमा आत्मनिर्भर छ भनिन्छ । पछिल्लो समयमा गोरखाका धेरै ठाउँमा कुखुराको व्यवसायिक फर्महरु खुलेको पाइएको छ । यसले रोजगारी र स्वरोजगारी दुवै सिर्जना गरेको छ । विदेशिन सम्भावित युवाहरुलाई कुखुरा कपालनलाई महत्वपूर्ण रुपमा हेरिन्छ ।
गोरखामा कुखुराको मासुको भाउ मासु पसलेहरुले आफुखुशी निर्धारण गर्ने गरेका छन् । जिउँदो कुखुराको मूल्यमा प्रतिकेजी १२० देखि १४० रुपैयाँसम्म जोडेर बिक्री मूल्य निर्धारण गर्नुपर्ने मानक मान्यता छ । तर गोरखाका मासु व्यापारीहरुले जिउँदो कुखुरा प्रतिकेजी रु २२० मा किनेर ४०० अथवा ४५० मा बेच्छन् । यसरी मासु व्यापारी स्वयंले आफुखुशी मनोमानी गरेर कुखुराको मासुको दरभाउ तोक्ने कार्य न्यायोचित हुदैन ।
व्यवसायलाई हौसला दिनुपर्छ, प्रोत्साहन दिनुपर्छ तर रोजगारी सिर्जना गरेको, स्वरोजगार बनेको भन्दै प्रसंसा पाए पनि मूल्य निर्धारण समयअनुकूल समायोजन नगरेकोमा आलोचित छ । सो आलोचनामुक्त हुनसक्नु व्यवसायीहरुका सामु चुनौति छ ।
जिउँदो कुखुराको मूल्य बढेका बेला मासुको मूल्य पनि बढाउने र घटेका बेला घटाउने गर्नु व्यवहारिक कुरा हो ।
खरिद मूल्यमा १२० देखि १४० रुपैयाँसम्म मुनाफा जोडेर बिक्री मूल्य तोक्नु पर्ने मासु व्यवसायी संघ केन्द्रको निर्देशन छ । यसो हुँदा कहीँ कतैबाट आलोचना पनि हुदैन । केन्द्रको नीति नियम मुताबिक पनि हुन्छ । तर यसरी मनोमानी भइरहेको अनुगमन गर्ने, नियमन गर्ने परम्परा पनि छैन । अनुगमन नियमन गर्ने निकायलाई दैनिक नियमित काम मात्र गर्दैमा भ्याइनभ्याइ छ । त्यसको असर उपभोक्तामा पर्न जान्छ ।
एकातिर कुखुरा पालक किसान सही भाउ नपाएको भन्दै गुनासो गर्छन्, अर्कातिर मासु पसलेहरु दरभाउमा आफूखुशी गर्छन् । किसान पनि मर्कामा, उपभोक्ता पनि मर्कामा पारेर मासु पसलेले मात्र मुनाफा गर्नु न्योचित हुदैन ।




