| सोमवार, कार्तिक २३, २०८३

गाईगोरु बध गर्ने बाटो बन्द गर

हिन्दूहरु गाईलाई लक्ष्मी देवीको प्रतीकका रुपमा पूजा गर्छन् । गोरुलाई देवादिदेव शिवको बाहन भनेर यथोचित मर्यादा गर्ने गरिन्छ । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो कानूनमा पनि ब्यबस्था थियो अहिले पनि छ । तर विशेषगरी जनयुद्धमा गाउँगाउँमा गाईगोरु काट्ने, मासु खाने, खुवाउने गरियो ।
त्यसपछि बदलिँदो राजनीतिक परिस्थितिमा गाईलाई राष्ट्रिय जनावरबाट हटाउन केही शक्ति लागिपरे । तर झण्डै ८० प्रतिशत हिन्दू धर्मावलम्बीको बसोबास रहेको देश भएकाले चौतर्फी बिरोध भयो र राष्ट्रिय जनावरको रुपमा गाई कायम त भयो तर गाईको संरक्षणको बारेमा कानूनमा केही उल्लेख भएन ।
गाईगोरु काटमारका लागि ओसारपोसार हुँदा प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदा कसैले अदालतमा मुद्दा दायर ग¥यो । अदालतले देशभर निर्वाध गाईगोरु ओसारपोसार हुन दिनू भन्ने आदेश ग¥यो । सोही कागजलाई ढाल बनाएर तस्कहरुले अहिले खुल्लमखुल्ला गाईगोरु वध गर्ने उद्देश्यले ओसारपोसार गरिरहेका छन् ।
सरकारी कागजपत्र बोकेर तस्करहरुले पहाडी गाईगोरुको अवैध कारोबार सुरु गरेको बर्षौँ भइसकेको छ । नियन्त्रण गर्न कानूनले केही उल्लेख नगरेपछि प्रहरी प्रशासन देखे पनि नदेखे जस्तो गरी बस्न बाध्य भयो । काटमारको उद्देश्यले भएको ओसारपसारमा पशुसम्बन्धी काम गर्ने कार्यालय पनि मौन बस्न बाध्य भयो । यो गतिबिधि अधिकांश नेपालीका लागि पाच्य छैन ।
कानूनले नै ओसारपसारमा खुल्ला गरेपछि प्रहरी, प्रशासन, नियमन गर्ने अधिकारी, सर्वसाधारण नागरिक टुलुटुलु हेरेर बस्नु परेको अबस्था छ । थाहा छ, ती गाईगोरु काटमारका लागि लगिएका हुन् तर लाने ब्यबसायीहरु भन्छन्, जोत्न लगेको हो । ‘हैन’ भन्नका लागि कुनै प्रमाण, आधार छैन । काटमारका लागि लगेको हो भनेर खुल्लमखुल्ला भनिहाले भनेपनि कारबाही गर्ने कानून छैन ।
परम्परादेखि मानमानितो गर्दै आएको गाईगोरुको ओसारपसार यस्तो अबस्थामा गुज्रिरहेको अबस्था छ । त्यसैले मुलुकले यसलाई नियमन गर्न, नियन्त्रण गर्न कानून बनाएर कारबाहीको बाटो खुल्ला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्