
सहकारी चोर खोज्न आलटाल
बिगत केहीबर्ष यता गोरखामा तीनवटा सहकारीमा चोरी भयो । सबैभन्दा पछिल्लो पटक भीमसेनथापा १ मसेलको एक सहकारीमा चोरी भएको छ । यसअघि पालुङ्टार ९ विर्दीमा मिरकोट बचत तथा ऋण सहकारी संस्थामा चोरी भयो । त्यसपछि भीमसेन थापा गाउँपालिका बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा ठूलो परिमाणममा रकम चोरी भएको हो ।
२०७७ साल पुस २१ गते पालुङटार नगरपालिका–९ बिर्दीबजारमा रहेको ‘मिरकोट बचत तथा ऋण सहकारी संस्थाबाट पाँच लाख १८ हजार नगद सोहोरेर फरार भयो । उक्त घटना घटेको झन्डै चार वर्ष बित्यो । हालसम्म चोर पक्राउ परेको छैन ।
त्यस्तै, गण्डकी प्रदेशभित्रकै ठूलोमध्य पर्ने भीमसेनथापा –७ को भीमकुल सहकारीबाट २०७८ साल असार २५ गते २६ लाख रकम चोरी भयो । प्रहरीसँग घटनाको सिसिटिभि फुटेज पनि छ । फुटेजमा दुई व्यक्ति कार्यालयमा छिरेर चोरी गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । तर, हालसम्म पक्राउ भने हुन सकेको छैन । मसेलको बिन्द्रावती सहकारीबाट चोरले करिब डेढ लाख रुपैयाँ चोरेर लगेको हो ।
व्यवस्थापनको कमजोरीले चोरी भएको छ, तर सहकारीको भण्डारमा परेको क्षति सेयर सदस्यहरुबाट असुल उपर गरिएको छ । यो काम सेयर सदस्यहरुथिको ठगी हो । चोरले चोरेर लगेको रकम सर्वसाधारणको के दोष र उनीहरुबाट असुलउपर गर्ने ? सहकारीबाट जानाजान वा अञ्जानमा रकम चोरिन्छ, हराउँछ, त्यो रकम ग्राहकसंग किन असुल उपर लिने ? त्यसो गर्दा ढुकुटीको गम्भीर रुपमा संरक्षण र व्यवस्थापन नगर्ने अनि चोरी भैहाले पनि उपभोक्तासंग असुल उपर गरिलिने नजिर बन्न सक्छ ।
अनि समय वित्दै जाँदा यस्ता चोर उम्किएपछि उम्क्यो गयो । खोज अनुसन्धान पनि पातलिँदै गइरहेको अनुभूति हुन्छ ।




