
काम नगर्ने ठेकेदारलाई पाखा
ठेकेदारले काम नगरेर ‘क्रोनिक’ भएका ठेक्काहरु गोरखामा धेरै छन् । टड्कारो देखिने छ, बाह्रकिलो बारपाक सडक, सातदोबाटो पालुङ्टार सडकको अन्नपूर्ण जंगलको खण्ड ।
बिमलनगर, पालुङटार सडकको अबस्था पनि उस्तै हो । बारपाक सडकको अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लोहनी एण्ड ब्रदर्शले लिएको थियो । कालोपत्रेको काम सुरु भएको नौ बर्षमा पनि सो सडक कालोपत्रेको काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको सडक खण्डमा काम अलपत्र रहेको छ ।
बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो, तर काम सम्पन्न भएको छैन ।
ठेकेदारहरुले बर्षाको बहाना बनाउँदै काम गर्दैनन् । कहिले कोभिड, कहिले बाढी पहिरो, कहिले बर्षात आदिको बहाना पनि बनाउँछन् ।
बाह्रकिलोदेखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको थियो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निबेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो । यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरबाहीका कारण काम अलपत्र छ ।
यी त केही प्रतिनिधि पात्र हुन् । यस्ता ठेक्का अलपत्र पार्ने कम्पनीहरु कैयौँ छन् । अजुवाखोला पुल पनि धेरै लामो समयपछि बल्ल बनेको छ, सोती खोला, आर्खेत खोलाको पुल पनि लामो समयको अलपत्रपन पछि बनेको छ । यसरी काम नगर्ने योजना, आयोजनाहरुको तथ्यांक उतारी उनीहरुको सत्यतथ्य बुझेर कारबाही प्रक्रियामा लैजान शक्ति मिलोस् ।