
लापुवेशी सडक खण्डमा नयाँ ट्रयाक खोल्न सात दिने अल्टिमेटम
बेनिघाट आरुघाट सडकको लापुवेशी खण्ड स्तरोन्नतिको काम जिम्मा लिएर अलपत्र पार्ने सुसान निर्माण सेवालाई पहिरो गएको स्थानमा बैकल्पिक ट्रयाक खोल्न कार्यालयले सात दिने अल्टिमेटम दिएको छ । गोरखा सडक योजनाले आइतबार पत्राचार गर्दै पहिरोले अवरुद्ध बनेको सो खण्डमा सातदिनभित्र नयाँ ट्रयाक खोल्न सो निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।
त्यस्तै तीन दिनभित्र कार्यतालिका सहित कार्यालयमा हाजिर हुन समेत कार्यालयले निर्देशन दिएको छ । तोकिएको समयमा उपस्थित नभएमा ठेक्का तोड्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।
म्याद सकिँदासम्म जम्मा १७ प्रतिशत मात्र काम गरेको सो निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्नका लागि पटक पटक मौखिक र लिखित ताकेता गरेको भन्दै कार्यालय प्रमुख खड्काले ठेकेदारले वेवास्ता गर्दै आएकाले काम अलपत्र परेको बताए । उनका अनुसार लापुवेशीस्थित पहिरो गएको खण्डमा नयाँ ट्रयाक खोल्ने र जाली भर्ने कामका लागि सुसान निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।
गत असार मसान्तमा काम सक्ने गरी २०८० साल चैत्र ६ गते सम्झौता भएपनि हालसम्म कामको प्रगति १७ प्रतिशत मात्र रहेको बताइएको छ । विभिन्न बहाना बनाउँदै ठेकेदारले काम नगरेको कार्यालयको भनाइ छ ।




