
जनप्रतिनिधि विवादित नबनुन्
कुनै जनप्रतिनिधि कुनैपनि खालको विवादमा मुछिन चाहन्नन् । कतैबाट कुनै किसिमको आरोप आइपर्छ कि भन्नेमा सचेत हुन्छन् । जोखिम उठाउन खोज्दैनन् । यसको उल्टो कतिपय जनप्रतिनिधि भने आरोपको पर्वाह गर्दैनन् । बेइज्जत, बद्नामको डर मान्दैनन् । विवाद र चुनौतिको सामना गर्दै अघि बढ्न तम्सिन्छन् ।
कतिपय जनप्रतिनिधि रचनात्मक हुन्छन्, नयाँनयाँ काम गर्न सँधै चिन्तनशील हुन्छन् । भविष्यमा माथिल्लो स्थान चुम्ने वातावरण बनाउन आफ्नो काममा गम्भीरतापूर्वक लाग्छन् । कतिपय जनप्रतिनिधि भने स्थानीय भट्टी पसलमा जुवातासको खालमा हुन्छन् । कोही जनप्रतिनिधि राजधानी मात्र बसिरहन्छन् । कतिपय जनप्रतिनिधि पूर्वाधार निर्माणको काममा ठेक्कापट्टा गरिहिड्छन् ।
यहाँ धेरै खालका जनप्रतिनिधि छन् ।
संघीय राज्य संरचनामा स्थानीय सरकार धेरै प्रभावकारी निकाय हो । प्रत्यक्ष जनतासामु भेटेर काम गर्ने निकाय स्थानीय सरकार हो । स्थानीय सरकारको कार्य सम्पादन राम्रो लाग्यो भने सर्वसाधारण जनताहरु पनि यो राज्य व्यवस्थाप्रति उत्साही, सकारात्मक हुन्छन् । स्थानीय सरकारको कार्यशैली, आचरण हेरेर ग्रामीण जनताले धाराणा बनाउँछन् । त्यसैले स्थानीय सरकार धेरै प्रभावकारी, धेरै जिम्मेवार, धेरै सदाचारी हुनु जरुरी छ ।
तर कतिपय जनप्रतिनिधि, जो तेसो कार्यकालका लागि निर्वाचनमा भाग लिन पाउँदैनन्, उनीहरु अहिलैदेखि जिम्मेवारीबाट बाहिरिने मनोविज्ञानमा छन् । उनीहरुले सही उम्मेद्वारलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने वातवरणसमेत बनाएका हुदैनन् ।
कतिपय जनप्रतिनिधि भने अहिलेसम्म पनि निर्माण व्यवसायको ठेक्कापट्टमा ब्यस्त छन् । अधिकांश समय जिल्ला सदरमुकाम तथा काठमाडौँतिर विभिन्न व्यवसायमा लागिरहन्छन् । उनीहरु आगामि चुनावमा उम्मेद्वार बनौँला भन्ने आशा नै गरेका हुदैनन् । असल नेतृत्व त्यसलाई भनिन्छ, जसले राम्रोसंग काम पनि गर्छ, पदको हस्तान्तरण पनि असल नेतृत्वलाई गर्छन् । त्यसैले जनप्रतिनिधिहरु सधैँ जिम्मेवार हुनुपर्छ । राज्यस्रोतको दोहन गरी बद्नाम हुने छुट जनप्रतिनिधिहरुलाई हुदैन ।




