
‘महिलाहरुका लागि आर्थिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा ‘महिलाहरुका लागि आर्थिक स्वतन्त्रता’ तपाईले चाहेको जीवन जिउनुहोस्’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राइट इन्टरभेन्सन् टिम अफ एशिया (रिटा) फाउन्डेशनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बुधबार सम्पन्न कार्यक्रममा महिला शिक्षा, उनीहरुको आर्थिक सवलीकरण, सामाजिक जनचेतना लगायतका विषयमा अन्तरक्रिया भएको थियो । विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले कार्यक्रममा सहभागीहरुलाई महिला स्वतन्त्रता, आर्थिक सवलीकरण र महिला हकहितका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले संघले आयोजना गर्ने गरेको तालिम तथा प्रशिक्षणहरुमा ९० प्रतिशत सहभागिता महिलाहरुको हुने गरेको बताएका छन् । पुरुषको सफलताको पछाडि महिलाको हात हुने बताउँदै उनले जिल्लाका महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन संघले विभिन्न प्रशिक्षण तालिमहरु प्रदान गर्दै आएको बताएका छन् ।
यस्तै, अर्का वक्ता कृषि व्यवसायी भगवती परियारले महिलाहरु आर्थिक रुपमा स्वतन्त्र हुनु निकै महत्वपूर्ण रहेको बताएकी छिन् । ‘हामी महिलाहरु अरुमा निर्भर हुनुभन्दा पनि सानोठूलो काम गरेर आफै आत्मर्निभर बन्नुपर्दछ’, उनले भनिन्, ‘आफु सक्षम भए अरुले हेप्न पाउँदैनन्, महिला दिदीबहिनीहरुले फजुल खर्च गर्नुभन्दा पनि बचत गरेर सिप बिकासमा लगानी गर्नुपर्दछ ।’ कृषि फर्म संचालन गरिरहेकी परियारले २–४ जनालाई रोजगारी समेत दिइरहेको बताइन् । लगनका साथ काम गरे महिला पनि धेरै माथि पुग्न सक्ने उनको भनाइ छ ।
जिल्लाको हकमा एकल महिलाको अवस्था दयानीय रहेको धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङले बताइन् । सहभागीहरुलाई सम्बोधन गर्दै उनले सबै एकल महिलाहरु सक्षम हुनु जरुरी रहेको बताइन् । ‘एकल महिलाहरु आत्मर्निभर हुनु जरुरी छ, आफू सही हुनु पर्दछ । अरुलाई औँला उठाउन सक्दैनन्’, उनले भनिन् । जिल्लाका ग्रामीण भूभागमा बसोबास गर्ने महिलाहरुलाई सम्बोधन गर्ने नीति निर्माण गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रमका आयोजक संस्था रिटा फाउन्डेसनकी संस्थापक रिता परियारले संस्थाले दुर्गम भेगका महिलाहरुको शिक्षा एवं आर्थिक सवलिकरणका विषयमा काम गरिरहेको बताएकी छिन् । समाजको आधा भन्दा बढी सदस्या महिला रहेकाले पनि महिला सक्षम हुनु भनेको सिङ्गो समाज र राष्ट्र नै सक्षम हुने उनको भनाइ छ ।
परियारको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उवासंघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल ओमन चेम्बर गोरखाकी अध्यक्ष ज्ञानु अधिकारी, धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ, कृषि व्यवसायी भगवती परियार लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।




